काठमाण्डु – नेकपा एमालेले कोरोना भाइरसको महामारीविरुद्ध एकजुट हुन कार्यकर्ताहरुलाई निर्देशन दिएको छ । आइतबार बालुवाटारमा बसेको केन्द्रीय समितिको बैठकले सिंगो पार्टी एक ढिक्का हुन निर्देशन दिएको हो ।
प्रधानमन्त्री केपी शर्मा ओलीले कोरोना संक्रमण उच्च बन्ने भन्दै स्थानीय तहहरुसँग मिलेर नागरिकको जीवन रक्षामा जुट्न निर्देशन दिएका छन् । उनले कोरोना महामारीविरुद्धको लडाइँमा परिचालित हुन मातहतका कमिटीलाई निर्देशन दिएका हुन् ।
अक्सिजन प्लान्ट थप्ने, जिल्ला जिल्लामा हेल्थ डेस्क राख्ने, विदेशबाट आएका र जोखिममा रहेकालाई क्वारेन्टाइनमा राख्ने त्यसका स्थानीय तहसँग सहकार्य गर्ने, कोही बिरामी भए अस्पताल सम्म पुर्याउन मद्दत गर्न प्रधानमन्त्री ओलीले निर्देशन दिएको प्रवक्ता प्रदीपकुमार ज्ञवालीले बताए ।
सरकारले तत्काल देशभर लकडाउन नगर्ने मनस्थिति बनाएको छ । सरकारले स्वास्थ्य प्रोटोकलहरु पालना गर्न नागरिकहरुलाई आग्रह गरेको छ ।
‘अहिले तत्काल हामी नेशनवाइड लकडाउन चाहिँ गर्दैनौं । अहिलेको हाम्रो आग्रह सबै नागरिकहरुलाई स्वास्थ्य प्रोटोकलको पालना गर्नुस् भन्ने नै छ,’उनले भने, ‘लकडाउनले एकछिनलाई कोभिडको चेन ब्रेक गर्छ र अलिकति पुस गर्ने मात्रै हो । आफैंमा अन्तिम समाधान होइन ।’
मन्त्री ज्ञवालीले लकडाउनका कारण भर्खरै अर्थतन्त्र तंग्रिन लागेकाले सकभर अर्थतन्त्रमा र मान्छेको जीविकामा प्रभाव नपरोस् भन्ने सरकारको चाहना रहेको बताए ।
‘हटस्पटहरुमा पार्सल्ली लकडाउन हुन सक्छ तर त्यो लोकल मात्रै, नेशनवाइड लकडाउनचाहिँ हुँदैन,’ उनले भने ।




प्रतिक्रिया