एमालेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत

एमालेको महाधिवेशन आयोजक कमिटी विघटन गर्न ओली सहमत

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेले नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी ब्युँताउने तयारी थालेको छ ।

नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली नवौं महाधिवेशनबाट निर्वाचित केन्द्रीय कमिटी ब्युँताउनका लागि दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटी पनि भंग गर्न सहमत  भएको एक नेताले जानकारी दिए ।

बालुवाटारमा आज बसेको स्थायी कमिटी बैठकले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठक बोलाउने निर्णय गरेको छ ।

राष्ट्रिय महाधिवेशन आयोजक कमिटीको बैठकबाट पार्टीका सबै संरचनाहरू २०७५ जेठ २ मा फर्किएको औपचारिक निर्णय गरिनेछ ।

नेकपा एमालेका नेता विष्णु रिजालले अब पार्टीमा महाधिवेशन आयोजक कमिटी नामक अस्थायी संरचना नरहने प्रष्ट पारेका छन् ।

पार्टीलाई एकताबद्ध बनाउन उक्त कमिटी विघटन गर्ने उनले बताए । नेता रिजालले केही दिनपछि बस्ने एमालेको साविक केन्द्रीय कमिटीको बैठकले पार्टीलाई अगाडि बढाउने बताएका छन् ।

‘अब नेकपा (एमाले) मा ‘महाधिवेशन आयोजक कमिटी’ नामक अस्थायी संरचना रहँदैन । साविक केन्द्रीय कमिटीको बैठक बस्छ र पार्टीलाई त्यसैले अघि बढाउँछ । पार्टी एकताका लागि यस विकल्पलाई सबैले अधिकतम लचकताका साथ प्रयोग गर्नुपर्छ,’ उनले ट्विटरमा भनेका छन् ।

प्रधानमन्त्री ओलीले पार्टीलाई एकताबद्ध बनाउन ६ बुँदे प्रस्ताव ल्याएका थिए । सोही प्रस्ताव अनुसार पार्टीलाई अगाडि बढाउन ओलीले उक्त कमिटी खारेज गर्ने भएका हुन् ।

उनले एमालेलाई २०७५ जेठ ३ गतेको अवस्थामा फर्काउने र सोहीअनुसार एमालेको कमिटी ब्यूँत्याउने बताएका थिए । तर, माधव नेपाल समूहले पार्टीलाई जेठ २ गतेको अवस्थामा फर्काउनुपर्ने बताउँदै आएको छ ।