नेपालमाथि ओलीको आक्रोशः यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपीले राख्ला ?

नेपालमाथि ओलीको आक्रोशः यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपीले राख्ला ?

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले वरिष्ठ नेता माधव नेपालमाथि आक्रोश पोखेका छन् ।

सोमबार ७० औं मदन भण्डारीको जन्मजयन्तीका अवसरमा बालुवाटारमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले आफ्नो सरकार ढालेर विपक्षीलाई सहयोग गरेको भन्दै माधव नेपालमाथि आक्रोश पोखेका हुन् । उनले माधव नेपाललाई लाज शरम पचेको मान्छेको रुपमा टिप्पणी गरेका छन् ।

‘माधव नेपाल भन्ने एकजना कांग्रेसका पछि कुद्ने मान्छे छन् । नेपालको राजनीतिमा सबैले चिन्लान् । किनभने यतिधेरै चर्चा भइरहेको छ । मान्छे यतिसम्म पतन हुँदा रहेछन् । आफ्नो सरकार ढाल्ने, प्रमुख प्रतिपक्षको नेतृत्वमा सरकार बनाउने, कम्युनिष्ट आन्दोलन सिध्याउने, अर्कोतिर लागिसक्ने अनि नेकपा एमालेको वरिष्ठ नेता हुँ भनेर भन्ने’, प्रधानमन्त्री ओलीले भने, ‘यस्तो लाज शरम पचेको मान्छेको चर्चा सकारात्मक हिसाबले मात्र होइन नकारात्मक हिसाबले पनि चर्चा त हुन्छ ।’

त्यस्तै उनले माधव नेपाललाई कुनै पनि हालतमा प्रधानमन्त्री नबनाउने स्पष्ट पारेका छन् । प्रधानमन्त्री ओलीले माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ता भएको बताएका छन् ।

‘माधव नेपाल प्रचण्डको मामुली कार्यकर्ताका हुन् । अहिले धाक के लगाएर हिँडेका छन्– केपी ओलीले मलाई प्रधानमन्त्रीको प्रस्ताव राख्यो भनेर,’ उनले भने,‘मलाई बहुला कुकुरले टोकेको छ र ! नेपालमा कोही नभेट्टाएर यस्ता मान्छेलाई प्रधानमन्त्रीको प्रस्ताव केपी ओलीले राख्ला ?’