घरबेटी छुटाउने शिक्षामन्त्रीमाथि प्रधानमन्त्रीको आक्रोशः ठिक गर्नुभएन

घरबेटी छुटाउने शिक्षामन्त्रीमाथि प्रधानमन्त्रीको आक्रोशः ठिक गर्नुभएन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री कृष्णगोपाल श्रेष्ठले काठमाण्डुमा घरबेटी छुटाएको घटनामा असन्तुष्टी व्यक्त गरेका छन् । मन्त्री श्रेष्ठले जातीय विभेद गरेको आरोपमा पक्राउ परेकी बबरमहलकी सरस्वती प्रधानलाई छुटाएर आफ्नै गाडीमा घर छोडेका थिए ।

मंगलबार आयोजित पत्रकार सम्मेलनमा कानुन, न्याय तथा संसदीय मामिलामन्त्री लीलानाथ श्रेष्ठले प्रधानमन्त्री ओलीले मन्त्री श्रेष्ठले ठीक नगरेको भन्दै ध्यानाकर्षण गराएको बताएका छन् ।

कानुनमन्त्री श्रेष्ठले भने, ‘प्रधानमन्त्रीज्यूले मन्त्रीज्यूलाई तपाईंले जे गर्नुभो, ठीक गर्नुभएन भन्नुभएको छ ।’

ओलीले छुवाछुत हटाउन कानुन बनाउने, अर्कोतर्फ कार्यान्वयन नगर्ने व्यवहार ठीक नहुने भन्दै मन्त्री श्रेष्ठलाई ध्यानाकर्षण गराएका थिए । कानुन कार्यान्यन गर्ने जिम्मेवारीमा रहेको व्यक्तिबाटै कानुन उल्लंघन हुनु दुर्भाग्य भएको उनले बताए ।

जातका कारण डेरा नदिएको आरोपमा बबरमहलकी स्थानीय सरस्वती प्रधानलाई रुपा सुनारको उजुरीको आधारमा प्रहरीले पक्राउ गरेको थियो । तर, सरकारी वकिलको कार्यालयले प्रमाण नपुगेको भन्दै मुद्दा चलाउन अस्वीकार गरेपछि प्रधानलाई असार ९ गते थुनामुक्त गरेको थियो । थुनामुक्त भएकी प्रधानलाई मन्त्री श्रेष्ठले बा १ झ ८७६३ नम्बरको आफ्नै गाडीमा चढाएर बबरमहल छाडेका थिए ।