काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आफू राम्राे ग्रहदशाबाट प्रधानमन्त्री नभएको भन्दै शेरबहादुर देउवालाई व्यंग्य गरेका छन् ।
मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै अध्यक्ष ओलीले आफू जनताको मतबाट प्रधानमन्त्री भएको भन्दै राम्राे ग्रहदशाले प्रधानमन्त्री नबनाएको बताए ।
‘मलाई राम्रो ग्रहदशाले प्रधानमन्त्री बनाएको होइन । नेपाली जनताले मत दिएर प्रधानमन्त्री बनाएको हो । विभिन्न पार्टीको नेताहरुको महत्वाकांक्षा, अहंकार आदिको समिश्रणबाट पनि प्रधानमन्त्री भएको हैन । स्वार्थको गठजोडबाट पनि भएको होइन,’ उनले भने, ‘त्यस्ता विभिन्न असफलताको फिक्सनबाट उछिट्टिएर मेरो भागमा प्रधानमन्त्री भएको होइन । म कुनै जाली मुद्दा जितेर प्रधानमनत्री भएको थिइनँ । म परमादेशबाट हैन जनादेशबाट भएको हो । प्रधानमन्त्री पद दाइजो, जजमानीबाट प्राप्त हुने पद होइन ।’
त्यस्तै अध्यक्ष ओलीले फेरी पनि आफुले सरकारको नेतृत्व गर्ने दाबी गरेका छन् । उनले नातावाद कृपावादको निति अवलम्बन नगर्ने भनेपछि केही व्यक्तिहरुमा तुसारापात भएको बताएका छन् ।
आफुले राम्रो काम गरेको देखेर पार्टीभित्र समस्या उत्पन्न भएको उनको भनाइ छ । देश र जनताको सेवाको निम्ति जन्मिएको उनको भनाइ छ ।
उनले भने, ‘सभामुख महोदय म एउटा कुरा दोहोराउन चाहन्छु म यो देश र यो देशका जनताको सेवाका लागि जन्मिएको ठान्छु । म प्रधानमन्त्री हुन जन्मिएको पनि होइन । काम गर्दै जाँदा प्रधानमन्त्री पनि भएँ । प्रधानमन्त्री त म ६४ वर्षसम्म म थिइनँ । ’




प्रतिक्रिया