माधव नेपालले वडा सदस्य पनि जित्दैनन् : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले माधवकुमार नेपालले आगामी निर्वाचनमा वडा सदस्य पनि नजित्ने जिकिर गरेका छन् । मंगलबार गृहजिल्ला झापामा जिल्लास्तरीय अगुवा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै ओलीले एमालेबाट फाइदा लिनुसम्म लिएर पार्टी फुटाएको आरोप लगाए ।

‘यस पार्टीबाट फाइदा लिनुसम्म लिए । १६ वर्षसम्म महासचिव भए । प्रधानमन्त्री भए । पार्टी कहाँ पुर्याए ? २४० सिटमध्ये ३३ मा झारे । महाचिवबाट चलाउन सकिँदैन भनेर राजनीमा दिए । खुरुक्क बस्या भए हुँदैनथ्यो । फेरि प्रधानमन्त्री भए । चलाउन सकेनन् । राजीनामा दिएर हिँडे । सरकार र पार्टी रसातालमा पुर्याएर राजीनामा दिए । फेरि अध्यक्षमा दाबी गरेर पार्टी रसातालमा पुर्याउन हो ?’उनले प्रश्न गरे ।

अध्यक्ष ओलीले माओवादीलाई वडाध्यक्ष जित्न हम्मेहम्मे पर्ने र माधव नेपालले वडा सदस्य पनि नजित्ने दाबी गरे ।  ‘प्रचण्डजीले हिजो सही कुरा निकाल्नुभयो, हामीले त वडामा पनि चुनाव जित्न हम्मेहम्मे पर्ला जस्तो छ भन्नुभयो । उहाँले चुनावअघि सही कुरा निकाल्नु भयो । माधव नेपालले त वडा सदस्य पनि जित्दैनन् । माधव नेपाललाई जनताले भोट हाल्लान् ? के कारणले हाल्ने ? एमाले फुटाइएकाले ? जनतालाई धोका दिएकाले ?’ उनले प्रश्न गरे । संगठन कसरी बनाउनुपर्छ, विचार कसरी अगाडि बढाउने भन्नेमा एमाले गुरु पार्टी भएको उनको भनाइ थियो ।

प्रतिक्रिया दिनुहोस
Advertisement