एमालेविरुद्ध प्रचार युद्ध चलाए, प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन् : ओली

एमालेविरुद्ध प्रचार युद्ध चलाए, प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्छन् : ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले असार २८ का जस्ता प्रतिगामी परमादेशहरू अरु पनि आउन सक्ने बताएका छन् ।कर्णाली प्रदेश सम्पर्क कमिटीको आइतबार आयोजना गरेको देउसी भैलो कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले यस्तो बताएका हुन् ।

साथै उनले प्रतिगामी परमादेशबाट सचेत रहन कार्यकर्ता पंक्तिलाई आह्वान समेत गरेका छन् । ओलीले आफ्नो नेतृत्वको सरकार हुँदा प्रचार युद्ध चलाइएको दाबी गरे ।

‘एमाले सरकारविरुद्ध प्रचार युद्ध चलाए । हामीले दुई चार अर्ब करोड खर्च गरेर चलाउन सक्दैनौँ । तिनीहरुको आवाज सुन्नुस् त तिनीहरुलाई कसले चलाएको हो ? टेलिभिजन सुन्नुस् त्यसको आवाजले नै कसका लागि चलाएको भन्छ,’ उनले भने । ओलीले आफूले माधव नेपाललाई लक्षित गर्दै बोलेको कुरा पनि टेलिभिजनले तोडमोड गरेको बताए ।

‘मैले एक ठाउँ बोलेको थिएँ–‘एकजना नेताले पद नभइ भएन भन्छन’ । मैले एकजनाले पद नभइ हुँदैन भनेको कुरालाई टेलिभिजनले ‘पद नभइ हुँदैन’ भनेको मात्रै क्लिप देखाउँछन् । मलाई त पद नभइ बस्नै सक्दिनँ भनेर भाइरल बनाएछन् । यसरी भ्रम फिँजाउँछन्, टिभी र टिकटकमा पनि हालेछन्,’ उनले भने ।

साथै उनले एमाले सरकार छाड्न तयार रहेको बताए । ‘एमाले सरकार छोड्न तयार छ, तर देशलाई तलमाथि हुन र संविधान तथा लोकतन्त्र कमजोर हुन दिँदैनौं,’ उनले भने ।