महाधिवेशन प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

महाधिवेशन प्रतिनिधि छान्दै एमाले, समझदारी अपनाउन अध्यक्ष ओलीको आग्रह

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले उच्च समझदारीका साथ आसन्न दशौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि छनोट गर्न पार्टीका सदस्यलाई आह्वान गरेका छन् ।

महाधिवेशनका लागि आज देशभर प्रतिनिधि चयनको मिति तय भएको सन्दर्भमा अध्यक्ष ओलीले दलभित्र आपसी समझदारी सुदृढ एकताको आधार हुने भएकाले यसलाई लोकतन्त्रकै अभ्यासका रुपमा प्रयोग गर्न आग्रह गरेका हुन् ।

‘हाम्रो पार्टी एउटा लोकतान्त्रिक पार्टी हो । हामी लोकतन्त्रलाई प्रणालीको रूपमा मात्रै होइन, प्रक्रिया र पद्धतिको रूपमा पनि बुझ्दछौँ । तदनुसार नै व्यवहारमा पनि लोकतन्त्रको अभ्यास गर्दछौँ ।’

अध्यक्ष ओलीले भनेका छन्, ‘हामी सबैलाई थाहै छ, लोकतान्त्रिक अभ्यास भनेको जिम्मेवारीबोध र अनुशासनसहितको अभ्यास हो र प्रतिस्पर्धा मात्रै होइन, समझदारी, अझ उन्नत स्तरको समझदारी र सहमति लोकतन्त्रको उच्चस्तरीय अभ्यास हो । दलहरूका बीचमा प्रतिस्पर्धा हुन्छ र त्यो स्वस्थ हुनुपर्छ । दलभित्रआपसी समझदारी सुदृढ एकताको आधार हो ।’

महाधिवेशनका लागि एमालेका आठ लाख सङ्गठित सदस्यले आज मुलुक भरबाट एकैसाथ महाधिवेशन प्रतिनिधि छान्दै छन् । त्यसरी छानिएका प्रतिनिधिले आगामी मङ्सिर १० देखि १२ गते चितवनमा हुने महाधिवेशनमा अध्यक्षसहित २२५ सदस्यीय नयाँ केन्द्रीय कमिटी चयन गर्नेछन् ।

नेकपा एमालेले यस पटकको महाधिवेशन सहमतिको महाधिवेशन बनाउने बताउँदै आएको छ । त्यसका लागि प्रतिनिधि छनोटदेखि नै सहमति खोज्न कतिपय नेताहरूले जोड दिँदै आएका छन् ।