काठमाण्डु – चितवनमा जारी नेकपा एमालेको जारी १० औं राष्ट्रिय महाधिवेशनमा तीन नेताले उम्मेदवारी दर्ता गराएका छन् । एमालेका निवर्तमान अध्यक्ष केपी शर्मा ओलीले सर्वसम्मत रुपमा नेतृत्व चयनका लागि भन्दै तयार पारेको पदाधिकारीहरुको सूचीमा असन्तुष्टि जनाउँदै भीम रावल, धनश्याम भुसाल र भीम आचार्यले उम्मेदवारी दर्ता गराएका हुन् ।
पार्टी अध्यक्ष ओलीले आइतबार राति बन्दसत्रमा पदाधिकारी र केन्द्रीय समिति सदस्यहरुको नामावलीमा प्रस्तुत गरेका थिए । सो नामावलीप्रति असन्तुष्ट भएकाहरुले उम्मेदवारी दर्ता गर्ने क्रम जारी छ । यसैक्रममा रावलले अध्यक्ष, आचार्यले सचिव र भुसालले उपाध्यक्षमा उम्मेदवारी दिएका हुन् ।
ओलीले अध्यक्षमण्डलको तर्फबाट सहमतिका लागि भन्दै १९ सदस्यीय पदाधिकारी प्रस्ताव गरेका थिए । नवौं महाधिवेशनबाट उपाध्यक्षमा विजयी रावल, उपमहासचिव घनश्याम भूसाल र सचिव आचार्यको नाम पदाधिकारीको टिममा परेको थिएन ।
आफूलाई अध्यक्षका रुपमा प्रस्तुत गरेका ओलीले वरिष्ठ उपाध्यक्षमा ईश्वर पोखरेललाई प्रस्ताव गरेका थिए । यसैगरी उपाध्यक्षहरुमा युवराज ज्ञवाली, अष्टलक्ष्मी शाक्य, सुरेन्द्र पाण्डे, रामबहादुर थापा बादल, विष्णु पौडेल र सुवासचन्द्र नेम्वाङ प्रस्तावित छन् ।
महासचिवमा शंकर पोखरेललाई र उपमहासचिवमा प्रदीप ज्ञवाली, पृथ्वीसुब्बा गुरुङ र विष्णु रिमाललाई ओलीले प्रस्ताव गरेका छन् । सात सचिवमा टोपबहादुर रायमाझी, छविलाल विश्वकर्मा, रघुवीर महासेठ, लेखराज भट्ट, योगेश भट्टराई, गोकर्ण विष्ट र पद्मा अर्यालको नाम प्रस्तुत भएको थियो ।




प्रतिक्रिया