नेता जस्तै बन्न कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

नेता जस्तै बन्न कार्यकर्तालाई एमाले अध्यक्ष ओलीको निर्देशन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका नवनिर्वाचित अध्यक्ष केपी शर्मा ओलीले एमाले कार्यकर्ताहरुलाई ‘नेता जस्तै बन्न’ आग्रह गरेका छन् ।

नवनिर्वाचित अध्यक्ष तथा पदाधिकारीहरुको पद तथा गोपनीयताको सपथ सकिएलगत्तै दशौं महाधिवेशनको बन्दसत्र हलमा नेता तथा कार्यकर्ताहरूलाई सम्बोधन गर्दै ओलीले यस्तो आग्रह गरेका हुन् ।

‘कमरेडहरु, हाम्रा आनीबानी र व्यवहार नेता झैं हुनुपर्छ । व्यवहार शालीन हुनुपर्छ, विनम्रताका साथ अरुलाई व्यवहार गर्नुपर्छ’, उनले भने, ‘कुनै नेता घमण्डी र अहंकारी हुँदैन । अहंकारी व्यक्ति नेता हुँदैन, नेता अहंकारी हुँदैन ।’

ओलीले घमण्ड, दम्भ र अहंकार देखाउनै नमिल्ने बताए । ‘हामी जनताका सेवक हौं, विनम्रताका साथ जनताको सेवामा समर्पित हुनुपर्छ’, उनले भने, ‘परस्परमा विद्वेष प्रयोग गर्ने कुराबाट हामी जोगिनुपर्छ। एकअर्काप्रति सम्मान, सहिष्णु र आदरभावपूर्वक व्यवहार गर्नुस् ।’

त्यस्तै उनले आफ्नो पार्टीलाई आन्तरिक र बाह्य हमला भइरहेको जिकिर गरे । ‘विरोधीहरूले भड्काइरहेका थिए, उक्साइरहेका थिए । शान्त र एकतावद्ध माहोल भएपछि यस्ता हुतिहाराहरू भन्दै उक्साउँदै थिए । तर हाम्रो कार्यकर्ता पंक्ति हल्का फुल्का गैरजिम्मेवार रुपमा चल्दैन,’ उनले भने ।

तर कार्यकर्ता पंक्तिले इमानदारिता देखाएको भन्दै त्यसको प्रशंसा गरे । साथै पार्टीलाई जोगाउँदै अझ बलियो बनाएर जनतासँग एकीकृत बनाउनुपर्ने उनले बताए । उनले अबको ३ महिनासम्म पार्टी प्रवेश र पार्टी एकीकरणको अभियान चलाउने बताए । विभिन्न पार्टीबाट कार्यकर्तालाई आफ्नो पार्टीमा प्रवेश गराउने अभियान नै चलाउने उनले बताए ।

महाधिवेशन सफलतापूर्वक समापन गराएकोमा स्यवंसेवक, कार्यकर्तासहित सहयोगी र सहभागी सबैलाई उनले धन्यवाद दिएका थिए । अध्यक्ष ओलीले आगामी मंसिर २५ गते नवनिर्वाचित केन्द्रीय कमिटीको बैठक बस्ने पनि जानकारी दिएका छन् ।