काठमाण्डु – चितवनमा सम्पन्न १० औं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पदभार सम्हालेका छन् । शुक्रबार दिउँसो थापाथलीस्थित पार्टी केन्द्रीय कार्यालय पुगेर अध्यक्ष ओलीले पदभार ग्रहण गरेका हुन् ।
भीम रावललाई पराजित गरी ओली दोस्रो कार्यकालका लागि एमाले अध्यक्षमा निर्वाचित भएका हुन् । रावललाई अध्यक्ष ओलीले भारी मतले पराजित गरेका थिए । अध्यक्ष ओलीले पदभार ग्रहण गर्दै हालको गठबन्धन सरकारले देश चलाउन नसकेको बताएका छन् ।
‘राष्टिय राजनीति जसरी अन्योलग्रस्त भएको अवस्था छ, यस स्थितिलाई अन्त्य गरेर देशलाई सही बाटोमा अगाडि बढाउने क्रममा लाग्छौँ हामी । देश अहिले वर्तमान गठबन्धनको सरकार छ, यसबाट देश चलिरहेको छैन । सबैले अनुभूत गरेको कुरा हो, भन्न नभन्ने बेग्लै कुरा हो । सरकार चलिरहेको छैन, यस्तोलाई चलेको भन्ने हो भने नचलेको केलाई भन्ने ?,’ ओलीले भने, ‘यसप्रकारको गतिहीनता मुलुकले लामो समय भोग्न सक्दैन । छिटोभन्दा छिटो ताजा जनादेशमा जानुपर्छ । देशको समय बर्बाद गर्नु हुँदैन ।’




प्रतिक्रिया