काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीश चोलेन्द्र शमसेर जबराविरुद्ध महाअभियोग दर्ता नहुने बताएका छन् ।
मंगलबार महाअभियोग लगाउन आग्रह गर्दै बालकोट पुगेको बार पदाधिकारी तथा वरिष्ठ अधिवक्ताहरूसँगको अध्यक्ष ओलीले जबराविरुद्ध महाअभियोग दर्ता हुन नसक्ने बताए । उनले परमादेशमा सेटिङ गर्नेहरूकै कुरा बाझिएको बताएका हुन् ।
‘प्रधानमन्त्री शेरबहादुर देउवाले भनेको सुन्नु भएन ? गजेन्द्र हमाल कांग्रेसको कोटाबाट मन्त्री भएका हुन् । अर्को नेता (प्रचण्ड) ले उहाँ त कांग्रेसको कोटाबाट हो चोलेन्द्रको कोटा होइन भन्नुभयो,’ अध्यक्ष ओलीले भने, ‘लेनदेन भएकै होइन भनिरहेको छ भने महाअभियोग कसरी दर्ता हुन्छ ? दर्तै हुँदैन तपाईंहरूको महाअभियोग ।’
उनले जबरालाई हटाउँदैमा वा राजीनामा गर्दैमा समस्या समाधान नहुने र राणा हटाएर के गर्ने भन्ने कुरा तय भइसकेकाले त्यो झन् खतरनाक रहेको बताए ।
ओलीले भने, ‘शेरबहादुरजी भनिरहनुभएको छ मलाई प्रधानमन्त्री बनाइदिएको छ, म कसरी हटाउँछु । राणाजी भनिरहनुभएको छ म संवैधानिक प्रक्रियाबाट मात्र छाड्छु । अझ सुनिन्छ एकपक्षका न्यायाधीश र वकिल बसेर चोलेन्द्र हटाएपछि कुन–कुन मुद्दामा कसरी फैसला गर्ने भन्ने सेटिङ भइसकेको छ ।’
उनले न्यायलय सुधारको कुरामा एमाले प्रतिबद्ध रहेको तर सबैले कमजोरीहरु सुधार्दै लानुपर्नेमा जोड दिए । उनले प्रधानन्यायाधीशलाई महाभियोग लगाउन अरु दल तयार भए एमाले बाधक नबन्ने स्पष्ट पारे ।
अध्यक्ष ओलीले आफू प्रधानमन्त्री भएको बेला अदालतका लागि ५६ हजार पल्ट हस्ताक्षर गरेको बताएका छन् । उनले अदालतमा आफूले कसैसँग लेनदेन नगरेको बताए ।
‘म प्रधानमन्त्री हुँदा ५६ हजार सिग्नेचर गरे । एउटा प्रधानमन्त्रीले अदालतमा वादी प्रतिवादी मुद्दामा ५६ हजार सिग्नेचर गर्नुपर्यो । यो समयको बर्बादी होइन ? कसैलाई लाग्छ मुद्दा हालिदिने ?’ उनले कानुन व्यवसायीलाई प्रश्न गरे ।
सुर्खेतमा खरदारले बदमासी गर्दा नेपाल सरकारविरुद्ध मुद्दा पर्ने यसमा पनि प्रधानमन्त्रीले सिग्नेचर गर्नुपर्ने अवस्था रहेको भन्दै ओलीले यो प्रक्रियागत कुरा पनि सच्याउनुपर्ने बताए ।
‘न मैले कुनै लेनदेन गरेको छु न कसैलाई बनाएको छु । मैले पनि सक्थे होला नि । कानुनले बनाउन पाउने मात्रै बनाएको कुरालाई पनि लगेर अदालतले रोकिदिने ?’ उनले आक्रोश पोखे ।




प्रतिक्रिया