काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले स्थानिय तहको निर्वाचन सार्न सक्ने आशंका व्यक्त गरेका छन् । शुक्रबार सातै प्रदेशमा आयोजित निर्वाचन केन्द्रित प्रशिक्षण कार्यक्रमको एकसाथ उद्घाटन गर्दै उनले अझै पनि सरकारले स्थानिय तहको निर्वाचन सार्न षडयन्त्र गरिरहेको बताएका हुन् ।
‘घोषणा भइसक्दा पनि गठबन्धन निर्वाचन सार्ने षड्यन्त्रमा लागेको देखिन्छ । यस्ता कुरा आइरहेको छ कि चुनाव सार्न सक्ने षडयन्त्र भइरहेको छ । अहिले पनि केही दल स्थानीय तह निर्वाचनको पक्षमा छैनन्, तर हामीले उनीहरूलाई पनि तानेर निर्वाचनमा ल्याउँनुपर्नेछ,’ उनले भने, ‘वैशाख ३० मा हुने स्थानीय तहको असाधारण महत्व छ । यसले ठूलो राजनीतिक फैसलाको प्रारम्भ गर्दछ । यो अन्तिम फैसला हैन ।
अहिलेको सत्ता गठबन्धनले स्थानीय तहको मर्म नै नबुझेको उनको भनाई छ । ‘गठबन्धनकारीले स्थानीय तहको मर्म नै बुझेका छैनन्, एमालेले जोडबल नगरेको भए अहिले पनि निर्वाचनको मिति तोकिँदैनथ्यो,’ उनले भने ।
उनले २०७४ सालको स्थानीय चुनावमा सत्तागठबन्धनसँग लडेर एमाले नै सबैभन्दा ठूलो दल भएको स्मरण गर्दै अबको निर्वाचनमा पनि एमाले नै ठूलो दल हुने दाबी गरे । स्थानीयसँगै प्रदेश र प्रतिनिधिसभा निर्वाचनमा पनि एमालेकै बहुमत हुने उनको दाबी छ ।
संविधान दिवसलाई कालो दिन भन्नेहरूले त्यसको रस चुसिरहेको ओलीले आरोप लगाए । स्थानीय तह लोकतन्त्रको खम्बा हो भन्दै उनले भने, ‘यो उपलब्धीलाई अझ बलियो बनाउन आवश्यक छ ।’ ओलले पार्टी फुटाएर अर्को पार्टीमा लागेकालाई एमालेमै फर्कन पनि आग्रह गरे ।




प्रतिक्रिया