काठमाण्डु नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले हालको सरकारले अन्तर्राष्ट्रिय सम्बन्धलाई तहसनहस बनाएको बताएका छन् ।
शनिबार सूर्यविनायक नगर अस्पताल उद्घाटन कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमसीसीबारे पाँच दलीय गठबन्धन सरकारले निर्णय लिन नसक्दा अन्तर्राष्ट्रिय सम्बन्धलाई तहसनहस बनाएको बताएका हुन् ।
एमालेलाई सरकारबाट हटाएपछि एमसीसी पास गर्ने बताएको तर अहिलेसम्म यसबारे निर्णय लिन नसकेको उनले बताए । ‘हामीले संसद पेश गरौं, जे गर्ने हो संसदले गर्छ भनेका थियौं । जनप्रतिनिधिले छलफल गरेर टुंगो लगाउँछन् भनेका थियौं,’ ओलीले भने, ‘एमालेलाई सरकारबाट हटाएपछि पास गर्छौ भनेर पर सार्दै गए । अहिले एमसीसीकै कारण अन्तर्राष्ट्रिय सम्बन्ध नै तहसनहस बनाएका छन् ।’
उनले गठबन्धनको सरकार आफ्नै किचलोमा फस्दा देशमा चरम संकट फस्दै गएको बताएका छन् । अध्यक्षले ओलीले भने, ‘सरकार आफ्नै किचलोमा रुमलिएको छ । सरकार सञ्चालन गर्ने पैसा पनि छैन । विकासका काम रोकिएका छन्, तरलताको अभाव छ, बैंकबाट ऋण पाउन सकिएको छैन । देश चरम आर्थिक संकटमा फसेको छ । ’
त्यसैगरी ओलीले अब सर्वोच्च अदालत नभइ जनअदालतको निर्णयमा नेकपा एमाले सरकारमा जाने बताएका छन् । यसका लागि आजैदेखि तयारी थाल्न उनले आग्रह गरेका छन् । उनले एमालेको जनअदालत माओवादीको जस्तो दुई चार जनाले चलाउने र तर्साउने नभइ लाखौं मानिसको सहभागीत हुने बताए ।




प्रतिक्रिया