काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तहको निवार्चमा नेपाली कांग्रेस एक्लै नजाने बताएका छन् । शनिबार प्रदेश १ प्रेस चौतारी नेपालको प्रथम अधिवेशन उद्घाटनमा बोल्दै अध्यक्ष ओलीले वर्तमान गठबन्धनमध्ये कसैले पनि एमालेसँग चुनावी मैदानमा एक्लै आउने आँट नगरेको बताएका हुन् ।
स्थानीय तहको निर्वाचनमा नेपाली कांग्रेसले गठबन्धन लिएर जाने उनको भनाइ छ । उनले भने, ‘अहिलेको गठबन्धनका पाँच घटकमध्ये कांग्रेस पनि एक हो । वर्तमान गठबन्धनमध्ये कसैले पनि आउँदो निर्वाचनमा एमालेसँग एक्लै मैदानमा आउने आँट गर्न सक्दैन ।’
त्यसैगरी अध्यक्ष ओलीले नेकपा माओवादी केन्द्र सकिने र माधव कुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी अझै पार्टी बन्न नसकेको बताए । उनले अगामी दिनमा माओवादी अगाडि बढ्न नसक्ने दावी गरे । ‘भोट हाल, भोट नहाल । खाल्डोमा सुत या भुईंमा सुत। पक्की घरमा सुत, कच्ची घरमा सुत। छाप्रो बनाएर सुत, कुटीमा बस । तर, माओवादी केन्द्र भन्ने पार्टी सिद्धिन्छ, सिद्धिन्छ ।’ उनले भने ।
यता नेकपा एमाले विभाजन भएर बनेको एकीकृत समाजवादी अझै पार्टी बन्न नसकेको समेत अध्यक्ष ओलीले बताए । ‘माधववाला पार्टी चिचिलामै समाप्त हुन्छ । पार्टी बनेकै छैन, त्यो बन्दै बन्दैन, नबनिकन समाप्त भएर जान्छ ।’ उनले भने ।




प्रतिक्रिया