काठमाण्डु- नेकपा एमालेले स्थानीय तहको निर्वाचनमा तालमेल गर्ने संकेत गरेको छ । बिहीबार नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीको जारी केन्द्रीय कमिटी बैठकमा आवश्यक परेको खण्डमा स्थानीय तहको चुनावमा गठबन्धन गर्ने बताएका हुन् । यस भन्दाअघि भने अध्यक्ष ओलीले स्थानीय तहको चुनावमा एक्लै भिड्ने बताउँदै आएका थिए ।
उनले हालको पाँच दलीय गठबन्धनले चुनावमा मिलेर गए पनि नेकपा एमाले भने एक्लै भिड्ने दावी गरेका थिए । ‘ गठबन्धन अग्रगमनमा व्यवधान गर्दै अनुशासनहीनता र स्वेच्छाचारिताको विपरीत बाटो हिँड्ने समूह हो । परमादेशबाट बनेको यो सरकारलाई जनताले ठिक पार्ने छन् । बैशाख ३० गते पाँच दललाई एउटै खुट्टाले कुल्चने छौँ । नेकपा एमाले जनताको माझमा जान डराउँदैन । कोही कोही डराएर चुनावमा तालमेल गर्न लागि परेका छन् । तर हामी स्थानीय तहको चुनावमा एक्लै भिड्छौँ र जित्छौँ । नेकपा एमाले बैशाख ३० गते चुनावमा एक्लै जान्छ । ’, उनले इलाममा आयोजित एक कार्यक्रममा भनेका थिए ।
उसो त ओलीले यसभन्दा अघि पनि नेकपा एमाले स्थानीय तहको चुनावमा एक्लै भिड्ने बताउँदै आइरहेका थिए । तर अध्यक्ष ओलीले पछिल्लो समय आफ्नो बोली फेरेका छन् । यता हालको गठबन्धन पनि स्थानीय तहको चुनावमा तालमेल गर्न सक्ने देखिएको छ । भरतपुर विमानस्थलमा आज मात्रै पत्रकारसँग कुराकानी गर्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपाली कांग्रेससँग केन्द्रबाटै गठबन्धन हुने दावी गरे ।
प्रचण्डले स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा सरकारमा रहेका दलहरु बीचमा गठबन्धन हुने बताए । ‘गठबन्धन त भइरहेकै छ नी गठबन्धन टुट्दैन, अहिलेकै गठबन्धन स्थानीय मात्र होइन प्रादेशिक र सङ्घीय निर्वाचनसम्म पनि रहन्छ । कांग्रेसका केही नेताहरुले भनेर केही हुँदैन, कांग्रेसले एक्लै लड्छौँ भनेको छैन । हामी चुनावमा मिलेर जान्छौँ । ’, उनले भने । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा पनि चुनावमा गठबन्धनसहित जाने पक्षमा खुलेका छन् ।
पाँच दलीय गठबन्धनले स्थानीय तहको चुनावमा मिलेर जाने संकेत गरेकाले पनि अध्यक्ष ओलीले आफ्नो बोली फेरेको आँकलन गरिएको छ । उनले सकेसम्म एक्लै चुनाव लड्ने र आवाश्यक परेको खण्डमा तालमेल गर्न सकिने विकल्प रहेको बताएका छन् । ‘स्थानीय तहमा वास्तविकता र आवश्यकताअनुसार तालमेल आवश्यक भएमा सम्बन्धित जिल्ला कमिटीले निर्णय गर्न सक्ने’ विकल्प खुला राख्दै ओलीले सो तालमेलका बारेमा प्रदेश कमिटीलाई जानकारी मात्र होइन, सहमति पनि लिनुपर्ने निर्देशन दिई सकेका छन् ।
स्थानीय तहको चुनावमा तालमेल गर्ने नेकपा एमाले र लोसपाको रणनीति
नेकपा एमालेले महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) सँग स्थानीय तहको चुनावमा तालमेत गर्ने रणनीति बनाएको छ । पछिल्लो समय स्थानीय तहको चुनावमा तालमेल गर्ने बारे यी दुबी पार्टीका शीर्ष नेताहरुबीच छलफल हुँदै आएको पनि स्रोतको दावी छ । अध्यक्ष ओलीले अन्य दलकोविरुद्धमा बाेले पनि लोसपाकोविरुद्धमा भने बोलेका छैनन् । यता लोसपाले पनि स्थानीय तहको निर्वाचनमा सकेसम्म एक्लै जाने र विकल्पको रुपमा नेकपा एमालेसँग तालमेल गर्ने बताएको छ ।
तराई मधेसका जिल्लामा ‘आक्रामक’ रूपमा उपस्थित हुँदै गएको तथा ‘मधेसमा एमाले क्रेज’ बढदै गएको निष्कर्षका साथ एमालेसँग चुनावी गठबन्धन गर्ने सम्भावना रहेको ठाकुर निकट एक नेताले बताए । ‘पछिल्लो समयमा मधेसका जिल्लाहरूमा एमालेप्रति ‘क्रेज’ बढेको देखिन्छ, पार्टी प्रवेशको लहरले पनि हामीलाई एकपटक सोच्न बाध्य बनाउँदै लगेको छ,’ ठाकुर निकट एक नेताले भने, ‘हिजो मधेस र मधेसी जनताका लागि भनेर खोलिएका मधेस केन्द्रित दल, कांग्रेस, माओवादीमा भन्दा एमालेप्रति क्रेज बढ्दै गएपछि नेता तथा कार्यकर्ताहरूले शीर्ष नेतृत्वको ध्यानाकर्षण गराइरहेका छन् ।’




प्रतिक्रिया