सुशासन स्थापना गर्ने पार्टी एमाले नै हो : अध्यक्ष ओली

सुशासन स्थापना गर्ने पार्टी एमाले नै हो : अध्यक्ष ओली

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले देशमा सुशासन स्थापना र विकास गर्ने पार्टी एमाले नै भएको दाबी गरेका छन् ।

उदयपुरको सदरमुकाम गाईघाटमा एमालेले आयोजना गरेको कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले हिजो पनि देश र जनताको विकास तथा सुशासन स्थापना गर्न प्रतिबद्ध रहेको र आज पनि अन्य पार्टीभन्दा बढी प्रतिबद्ध रहेको दावी गरे ।

अहिले वर्तमान पाँच दलको संयुक्त सरकार उल्टो दिशातिर चलिरहेका कारण देश अस्थिरतातिर गइरहेको आरोपसमेत अध्यक्ष ओलीको थियो ।

एमालेले देशमा गरिबी हटाउन सडक, भौतिक संचरना निर्माणको काम, लोककल्याणकारी कार्यको लागि देशको अन्य राजनीतिक दलहरूभन्दा दुईचार कदम अगाडि रहेको दाबी गर्दै उनले अन्य राजनीतिक दल देश विकासको काम गर्न र सुशासन स्थापनामा असफल भएको आरोप लगाए ।

आफ्नो नेतृत्वमा बहुमतको सरकार रहेको बेला आफ्नै पार्टीका केही स्वार्थी नेता र अन्य पार्टीले आफूले राम्रो काम गरिरहेको कारण सरकार ढाल्ने काम गरेर विकास गर्न नदिएको अध्यक्ष ओलीले गुनासो गरे । उनले आगामी निर्वाचनमा एमाले निर्वाचित भएपछि पार्टीले देश विकासलाई निरन्तरता दिने बताए ।

अध्यक्ष ओलीले भने, ‘अहिले पनि एमाले देशको सबैभन्दा ठूलो प्रतिपक्ष पार्टी हो, आगामी वैशाख ३० को स्थानीय निर्वाचन सम्पन्न भएपछि पनि एमाले देशको सबैभन्दा ठूलो राजनीतिक पार्टी बन्ने छ ।’

उनले अलमलिएका पुराना कार्यकर्तालाई बेलैमा एमालेमा सङ्गठित हुन आह्वान गरे । एमालेले आगामी निर्वाचनबाट बहुमतको सरकार गठन गरेपछि लोककल्याणकारी कार्य र देश विकासको कार्यलाई झनै तीव्रता दिने विश्वास दिलाउँदै अध्यक्ष ओलीले देशको हित हुने तथा कसैसँग नझुक्ने नीतिसमेत लिने उल्लेख गरे ।