क्षमता र एजेण्डा नभएका दल चुनावसँग डराइरहेका छन् : अध्यक्ष ओली

क्षमता र एजेण्डा नभएका दल चुनावसँग डराइरहेका छन् : अध्यक्ष ओली

दर्ता भएका सबै दल मिलेर एमालेसँग भिड्न आए हुन्छ

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमालेसँग कुनै पनि दलले प्रतिस्पर्धा गर्न नसक्ने दावी गरेका छन् । प्रतिस्पर्धा गर्न नसक्ने भएपछि प्रतिस्पर्धी दलहरू आत्तिएको बताए । उनले प्रतिस्पर्धी दलहरूलाई ‘क्षमताको शून्यता भएकाहरू’ को संज्ञा दिए ।

‘क्षमताको शून्यता भएकाहरू आत्तिन्छन् । एमालेसँग प्रतिस्पर्धा गर्न सक्दैनन्,’ ओलीले शनिबार उद्योग व्यवसायी विशेष जिल्ला कमिटी काठमाण्डुको अधिवेशनमा भने । उनले एमालेबाहेकका दलहरूसँग कुनै एजेण्डा पनि नभएको आरोप पनि बताए । एजेण्डा नभएकै कारण अन्य दलहरूले एमालेको भण्डाफोर मात्र गर्ने भन्ने गरेको भन्दै आलोचना गरे ।

‘केही दलहरूले यो काम हिजो गरेको भन्न सक्दैनन् । भोलि यो काम गर्छु भन्न पनि सक्दैनन् । खाली एजेण्डा एमालेको भण्डाफोर गर्ने रे,’ उनले भने, ‘जनकपुर–रेल किन चलायाैँ भन्ने होला । नेपालमा किन रेल कुदायाैमँ भन्ने होला ? पूर्व–पश्चिम रेलमार्गको नक्सांकन किन गरियो भन्ने होला ?’ उनले प्रधानमन्त्री तथा कांग्रेस सभापति शेरबहादुर देउवा एमालेसँग डराएको बताए ।

देउवा एमालेको पाखुरा देखेर डराएको उनको भनाइ छ । उनले सबै दल एकतिर लागे पनि एमालेलाई जित्न नसक्ने दावी गरे । ५० प्रतिशतभन्दा बढी जनता एमालेको पक्षमा रहेको पनि बताए ।

‘शेरबहादुर देउवाजीले काँग्रेसका प्रमुख सभापति, राष्ट्रिय सभापतिले भन्नुभयो नचाहिने कुरा गर्ने हो ? एमालेसँग एक्लै लड्यो भने के हुन्छ थाहा छैन ? त्यसकारण तालमेल गर्नुपर्छ भनेर उहाँले भन्नुभयो । नेपाली काँग्रेसको केन्द्रमा टुप्पामा बसेर हेर्दा के देख्नुभयो भने एमाले यति बलियो, एमालेका पाखुरा देख्नुभयो उहाँ छक्क पर्नुभयो । तल तलबाट हेरेर हुन्छ, मैले टुप्पाबाट हेर्दाखेरि देख्याछु मैले एमाले देशभरी । चुनावमा नचिताए हुन्छ कसैले । पाँचवटा होइन, जति दर्ता भएका पार्टीहरू छन् सबै एकमुष्ट आएपनि केही फरक पर्दैन । नेकपा (एमाले) एक्लै चुनाव लड्न सक्छ । जित्न सक्छ ।’, उनले भने ।