निर्वाचनमा ‘बुथ कब्जा’ हुँदा प्रहरी हेरेर बस्यो : केपी ओली


काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले स्थानीय तह निर्वाचनमा सरकार प्रतिपक्षी दलमाथि निर्मम ढंगले प्रस्तुत भएको आरोप लगाएका छन् ।

बिहीबार प्रतिनिधिसभामा प्रस्तुत गरिएको आगामी आर्थिक वर्ष ०७९–०८० को नीति तथा कार्यक्रममाथिको छलफलमा सहभागी हुँदै ओलीले सरकार र सत्तारुढ दलका कार्यकर्ता चुनावमा बुथ कब्जा गर्नेदेखि प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिएको आरोप लगाए ।

सत्तारुढ दलका कार्यकर्ता र सरकारले प्रतिपक्षी दलका कार्यकर्तामाथि आक्रमणमा उत्रिने प्रहरीलाई नै परिचालन गरेको ओलीको आरोप छ । ‘बुथ कब्जा गर्ने, मतपेटिका फुटाउनेजस्ता अराजक कार्यहरु भइरहँदा प्रहरी हेरेर बस्यो,’ उनले भने ।

धाँधलीपूर्ण निर्वाचन गराएको बताउँदै उनले प्रमुख प्रतिपक्षी दलका कारण कुनै पनि केन्द्रको निर्वाचन स्थगित नभएको दाबी गरे ।

‘प्रतिपक्षी दलका कारण कतै पनि निर्वाचन स्थगित भएन,’ ओलीले भने, ‘तर, राज्य संयन्त्र प्रयोग गरेर निर्वाचनमा धाँधली गरियो । पञ्चायतकालमा पनि नभएको धाँधली यसपटक गरियो । ’

प्रतिपक्षी दल सकाउने गरी सत्तारुढ गठबन्धन चुनावमा होमिएको आरोप लगाउँदै उनले लोकतन्त्रको मूल्य मान्यतामा रहने एमालेलाई सकाउने गरी गठबन्धन लागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement