काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीति आफन्तहरुको लागि नगर्नु पर्ने बताएका छन् । बुधबार काठमाण्डुमा आयोजित कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले देशका लागि र जनताका लागि राजनीति गर्नुपर्ने बताएका हुन् ।
उनले नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र कांग्रेस सभापति शेरबहादुर देउवाले आफ्ना छोरी, श्रीमतीका लागि राजनीति गरिरहेको टिप्पणी गरे ।
देउवा र प्रचण्डप्रति लक्षित गर्दै अध्यक्ष ओलीले भने, ‘कोही राजनीति आफ्ना लागि, आफ्ना स्वार्थको लागि, आफ्ना छोरी-बुहारीका लागि, आफ्ना श्रीमती, साला, बुहारीका लागि, आफ्ना नातागोता-इस्ट मित्रका लागि गर्छन् । हामीले त्यस्तो राजनीति गर्ने होइन । हामीले देशका लागि र जनताका लागि राजनीति गर्नुपर्छ ।’
हालको सत्तारुढ गठबन्धनको औचित्य नै नरहेको उनको भनाइ छ । ‘यो देशद्रोही गठबन्धन हो । नेपाली जनतालाई ढाँट्छ । कांग्रेस लुलो भयो । कांग्रेस अब एक्लै उभिन सक्दैन । कांग्रेस त ५/७ वटा साथी नलिइकन अघि बढ्नै सक्दैन । कांग्रेसको विचार शून्य छ । कहाँ जाने थाहा छैन । कोसँग मिलेर के गर्ने थाह छैन ।’, उनले भने ।
उनले समृद्धि नेपाल, सुखी नेपालीको यात्रा रोक्न गठबन्धन बनेको दावी गरेका छन् ।




प्रतिक्रिया