काठमाण्डु- प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले कार्यकर्तालाई बलियो हुन निर्देशन दिएका छन् । शनिबार सुनसरीको दुहबीमा क्षेत्रीय कमिटीले आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा बोल्दै अध्यक्ष ओलीले एमाले कार्यकतालाई आइपरे जाइलाग्न सक्ने हुन निर्देशन दिएका हुन् ।
‘आइपरे जाइलाग्न सक्ने हुनुपर्छ। उस्तै परे डस्न पछि पर्नु भएन ।’, उनले भने। इमानदार बनेकै कारण सुनसरी क्षेत्र नम्बर ३ मा एमाले उम्मेदवारले हारेको अध्यक्ष ओलीले दावी गरे । उम्मेदवार भगवती चौधरीलाई दुई पटक प्रहरी प्रशासनको आडमा हराइएको आरोप लगाए ।
मंसिर ४ गतेको निर्वाचनमा पुनः पहिलेको जस्तो गर्न सक्ने भन्दै बेलैमा चनाखो हुनुपर्ने उनको भनाइ छ । त्यस्तै उनले प्रहरीलाई पार्टी भन्दा पनि राष्ट्र सेवकका हैसियतले आफ्नो भूमिका निभाउन आग्रह गरे ।
‘प्रहरी प्रशासनले पनि पार्टी विशेष भन्दा पनि राष्ट्र सेवकका हैसियतले निष्पक्ष भूमिका खेल्न पर्यो।’, अध्यक्ष ओलीले भने । मंसिर ४ पछि नेपाली भूमि लिपुलेक, लिम्पियाधुरा फिर्ता लिने प्रक्रिया सुरु गरिने उनको भनाइ छ ।




प्रतिक्रिया