काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले मंसिर ४ को निर्वाचनमा एमालेले चमत्कार गर्ने बताएका छन् ।
एमाले संसदीय दलको बैठकमा शुक्रबार पार्टीबाट निर्वाचित सांसदलाई बिदाइ गर्दै अध्यक्ष ओलीले मंसिर ४ को निर्वाचनमा परिणाम आउनेगरी खटिन गाउँ गाउँ जान निर्देशन दिएका हुन्।
‘मंसिर ४ मा आम निर्वाचन हुँदैछ । यो निर्वाचनमा एमालेले चमत्कारिक उपलब्धि हाँसिल गर्नुपर्छ । त्यसका लागि तपाईँ हामी सबैले आआफ्नो ठाउँबाट सम्पुर्ण शक्ति लगाउनुपर्छ’, अध्यक्ष ओलीले भने, ‘जो, जसले, जहाँ जे जिम्मेवारी पाइन्छ, त्यो जिम्मेवारी पुरा गर्न देश र जनतालाई शिरमा राखेर अघि बढ्नुपर्छ ।’
उनले पार्टी स्पिरिटमा सबै चल्न सक्नुपर्ने पनि बताए । ‘हामीबाट कुनै प्रकारको असन्तुष्टि देखिएर अरुले सम्झाउनेगरी होइन,उच्चस्तरको सांस्कृतिक उचाई राखेर अघि बढ्नुपर्छ’, ओलीले भने, ‘हामी आन्दोलन छोडुवा र पार्टी फोडुवा होइनौं ।’ अध्यक्ष ओलीले सानदार रुपमा आफ्नो कार्यकाल पुरा भएको पनि बताएका छन् ।
‘भोलिदेखि संसद रहँदैन। हामी सबैले आफ्ना उम्मेदवार जिताउन गाउँ गाउँ जानुपर्छ’, ओलीले सांसदलाई निर्देशन दिँदै भने, ‘भोलिदेखिनै हामी निर्वाचन क्षेत्रमा जानुपर्छ। आफ्ना उम्मेदवारलाई जिताउन लाग्नूपर्छ।’




प्रतिक्रिया