काठमाण्डु- नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीलाई ‘मेन अफ दी इलेक्सन’ का रूपमा सम्मान गरिएको छ । मंगलबार काठमाण्डुमा एमालेका तर्फबाट विजयलाल श्रेष्ठले सांसदहरूलाई बधाई दिने कार्यक्रममा देशभरमै सर्वाधिक लोकप्रिय मत पाएर चुनाव जितेर कीर्तिमान कायम गरेका अध्यक्ष ओलीलाई सम्मान गरेका हुन् ।
मंसिर ४ गते भएको प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचन अन्तर्गत झापा ५ बाट ओली ५२ हजार ३१९ मत सहित विजयी भएका थिए । उनका निकटतम प्रतिस्पर्धी कांग्रेसका खगेन्द्र पाण्डव अधिकारीले २३ हजार ७४३ मत पाएका थिए ।
यस्तै, गएको निर्वाचनमा पार्टीलाई अर्घाखाँची, पर्वत र धनकुटा गरी तीन जिल्लामा ‘क्लिन स्वीप’ गराएको भन्दै ओलीले पार्टीका ती जिल्ला अध्यक्षहरूलाई सम्मान गरेका छन् । जसअनुसार अर्घाखाँचीका अध्यक्ष पीताम्बर भुसाल,पर्वतका राजु पौडेल र धनकुटाका इन्द्रमणी पराजुली सम्मानित भएका हुन् ।
त्यस्तै संसदीय इतिहासमै पहिलो पटक चुनावी जित निकाल्न सफल भएको सोलुखुम्बु जिल्ला अध्यक्ष डुफ कुमार बास्तोलालाई पनि सम्मानित गरिएको छ ।




प्रतिक्रिया