काठमाण्डु – प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले चितवन छात्राबासमा बालिका मृत भेटिएको घटनाको यथार्थ बाहिर ल्याउन माग गरेका छन् ।
शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले घटनाले आफूलाई बेचैन बनाएको र सत्य तथ्य के हो चाँडो बाहिर ल्याउन माग गरे ।
उनले यस्ता घटनामा अनुसन्धान गर्ने निकायभन्दा बाहिरबाट हुने हल्ला र अफवाहले असहयोग पुग्ने गुनासो गरे । उनले लेखेका छन्, ‘यस्तो संवेदनशील घटनामा राज्यको निकाय प्रहरीले गहिरो अनुसन्धान गरोस् । परिवार र आफन्त अत्यन्त पीडित छन् । हत्या वा आत्महत्या के हो, गहिरो र विश्वसनीय अनुसन्धान गरेर बाहिर ल्याइयोस् । सबैले अनुसन्धानलाई सहयोग गरौं ।’
गत शनिबार बिहान रत्ननगर नगरपालिका–१५ माधवपुर घर भई वडा नम्बर १० एकता शिशु निकेतन बोर्डिङ स्कूलको होस्टेलमा बस्ने १४ वर्षीया सालिन पोख्रेल होस्टलको कोठामा रहेको सिलिङको पंखामा डोरीमा झुण्डिएको अवस्थामा मृत फेला परेपछि प्रहरीले अनुसन्धान गरिरहेको छ ।
घटनापछि प्रहरीले १० नम्बर वडाकै ६० वर्षीय बालहरि देवकोटा, ४० वर्षका किरणबहादुर अधिकारी र ४८ वर्षीय कमल शर्मा पौडेललाई मंगलबार पक्राउ गरेर हिरासतमा राखेको छ ।




प्रतिक्रिया