अब एमालेमा परीक्षा दिएर पास हुनेले मात्रै टिकट पाउँछ : अध्यक्ष ओली


भक्तपुर – नेकपा एमालेका अध्यक्ष तथा पूर्व प्रधानमन्त्री केपी शर्मा ओलीले सदस्यताको भरमा अब पार्टीले टिकट नदिने बताएका छन् ।

पार्टीको बागमती प्रदेश कमिटीले आयोजना गरेको जनप्रतिनिधिहरूको ३ दिने प्रशिक्षण कार्यक्रमलाई बिहीबार भक्तपुरको बोडेमा सम्बोधन गर्दै ओलीले भने, ‘अब व्यक्तिको काम हेरेर मात्र टिकट दिन्छौं ।’

पार्टीको सदस्य बनेको यति वर्ष भयो भनेर घमण्ड गर्नुभन्दा पनि जनता र पार्टीको काममा सक्रिय भएकाहरूको मूल्यांकन हुने उनले बताए ।

‘एमालेका हरेक तहमा प्रशिक्षण र भेलाहरू हुने र त्यसपछि परीक्षा लिएर उत्तीर्णको रेकर्ड माथिल्लो तहमा पठाउने व्यवस्था हुनेछ,’ ओलीले भने ।

पार्टीले लिएको परीक्षामा पास भएकाले मात्रै पार्टीभित्र र मुलुकमा हुने निर्वाचनमा टिकट पाउने उनले बताए ।

एमालेबाट निर्वाचित जनप्रतिनिधिहरूले जनताको दिनचर्यासँग जोडिएका कामहरू गर्नुपर्ने भन्दै उनले त्यसले मात्र स्थानीय तहमा समृद्धि आउने बताए ।

वडा, नगर, जिल्ला र प्रदेशले सिफारिस गरेको भरमा टिकट दिने विगतको परिपाटीलाई बदल्दै अब काम र सक्रियताको मूल्यांकनले भरिएको फाराम अनुसार निर्णय हुने उनले बताए ।

बुधबारबाट सुरु भएको प्रशिक्षण कार्यक्रममा जिल्ला कमिटीका अध्यक्षहरू, बागमती प्रदेशमा एमालेबाट निर्वाचित नगर प्रमुख, उपप्रमुख, एक जिल्लाबाट एक वडाध्यक्ष लगायत एक जनाभन्दा धेरैको सहभागिता रहेको प्रदेश कमिटीकी उपसचिव भक्तकुमारी लामाले जानकारी दिइन् । लामाका अनुसार शुक्रवार प्रशिक्षण कार्यक्रमको समापन हुनेछ ।

प्रतिक्रिया दिनुहोस
Advertisement