एमाले देश बनाउने पार्टी हो : अध्यक्ष ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले एमाले देश बनाउने पार्टी भएको बताएका छन् ।

बुधबार इलामको निर्वाचन क्षेत्र नम्बर २ को चुलाचुलीमा नेकपा एमालेले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै उनले देश बनाउनका लागि निर्णायक राष्ट्रिय शक्ति चाहिने बताए ।

सधैं गठबन्धनले देश नबन्ने ओलीको धारणा छ । त्यसैको लागि नेकपा एमालेले मिसन २०८४ भनेको उनले बताए । ‘देश बनाउने हो भने मिसन २०८४ चाहिन्छ,’ उनले भने ।

देश लगातार ओरालो लागेकाले त्यसलाई रोक्न नेकपा एमालेले नयाँ समीकरण बनाएको उनले बताए । उनले भने, ‘पहिरो गएको गएकै भयो देशमा, ३ वर्षदेखि पहिरो गएकै गए भयो ।’

सुदृढ राष्ट्रिय शक्ति निर्माणका लागि आजैबाट काम थाल्नुपर्ने उनले बताए । देश बिग्रन दिनु नहुने बताउँदै उनले देश आफैंले बनाउनुपर्ने स्पष्ट पारे ।

उनले भावनामा बगेर देश नबन्ने बताए । भावनामा अनेकथरी कुरा गरेर देश अघि नबढ्ने उनले स्पष्ट पारे । विद्वेष र घृणा फैलाएर देश विकास गर्न नसकिने उनले बताए । पहिचान विरोधी कोही नभएको बताउँदै उनले पहिचानको नाममा सामाजिक सद्भाव नभड्काउन आग्रह गरे ।

इलाम क्षेत्र नम्बर २ बाट नेकपा एमालेले अगाडि सारेको र माओवादी केन्द्र, नेकपा र परिवार दलको समर्थन पाएका सुहाङ नेम्वाङको विजय निश्चित भएको उनले दाबी गरे । वैशाख १५ गते हुने इलामको उपचुनावमा सुहाङ जति योग्य उम्मेदवार कोही नभएको उनले दाबी गरे ।

उनले इलामको जिम्मा सुहाङलाई दिन आग्रह गर्दै आफूले सुहाङको जिम्मा लिने बताए ।

अबको दुनियाँमा कसैले कसैलाई ढाँट्न नसक्ने उनले बताए । विगतमा कम्युनिष्टले बुढाबुढीलाई गोली हान्छन् भन्नेसम्मका भ्रम फैल्याएको बताउँदै कम्युनिष्टले त्यसलाई चिरेर सामाजिक हितको काम गर्दै अघि बढेको ओलीले प्रष्ट पारे ।

कम्युनिष्टले समृद्धि होइन, गरीबी बाँड्छन् भन्ने भ्रम फिँजाउनेको जवाफ पनि एमालेले दिएको ओलीले बताए । कम्युनिष्टले एकपटक मौका पायो भने देश विकासको काम कसरी गर्छ भन्ने कुरा प्रमाणित गरेर देखाइदिएको ओलीले उदाहरण दिए । एमालेको पालामा कैयौ पूर्वाधार निर्माण र सामाजिक विकासका काम भएका उनले बताए ।

प्रतिक्रिया दिनुहोस
Advertisement