उपनिर्वाचनको नतिजाले भोलिको पनि संकेत गर्‍यो : केपी ओली


काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बैशाख १५ गतेको उपनिर्वाचनले आजको मात्र नभई भोलिको पनि संकेत गरेको बताएका छन् ।

मंगलबार इलाम–२ को उपनिर्वाचन जितेपछि नेकपा एमाले इलामले आयोजना गरेको चुनावी सभालाई सम्बोधन गर्दै ओलीले अनेक प्रकारका भ्रमलाई चिर्दै नेकपा एमालेको पक्षमा नेपाली जनता उभिएका बताए ।

‘यो चुनाव चुनाव मात्र होइन, राष्ट्र निर्माणमा एउटा इँटा थप्ने कुरा हो, एउटा सिँढी थप्ने कुरा हो,’ उनले भने ।

नेपालमा बस्नेको सबैभन्दा पहिलो पहिचान नेपाली भएको उनले बताए । समृद्ध नेपाल, सुखी नेपाली नै नेपालीको पहिचान बन्नुपर्ने उनले स्पष्ट पारे । व्यक्तिगत होइन, सामूहिक पहिचानले मात्र देश अघि बढ्नेमा उनले जोड दिए ।

नेपालको पहिचान बहुजाति र बहुभाषा भएको उनले स्पष्ट पारे । ‘व्यक्तिगत पहिचानले कोही सफल हुन सक्दैन,’ उनले भने ।

नेपाल र नेपालीका साझा गन्तव्य समृद्ध नेपाल, सुखी नेपाली बन्नुपर्नेमा ओलीले जोड दिए । यसले मात्र पूर्वदेखि पश्चिमसम्मलाई जोड्ने उनले बताए ।

उनले अबको २५ वर्षमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएको १०० वर्ष हुने ओलीले सुनाए । कम्युनिष्ट पार्टी १०० वर्ष पुग्दा कुनै पनि नेपाली गरीब नहुने उनले दाबी गरे ।

उनले इलामले एमालेका सुहाङलाई जिताएको भन्दै अब इलामको विकासको जिम्मा सुहाङले लिने बताए । सुहाङको जिम्मा नेकपा एमाले र आफूले लिने उनले स्पष्ट पारेका छन् ।

केही मान्छेहरूले सुहाङलाई राजाको छोरा राजा भनेर कुप्रचार गरेका भन्दै ओलीले सुवास नेम्बाङ श्रमजीवीका नेता भएकाले श्रमजीवी नेताको छोरा सुहाङ श्रमजीवीकै नेता भएको स्पष्ट पारे ।

एमालेले चुनावी कार्यक्रममा बोलेको कुरा संकलनका लागि मात्र बोलेको कुरा नभई आफूले बोलेका कुरा पूरा गरेर छाड्ने बताए । विकास, सुशासन, विदेश नीति कस्तो बनाउने भन्ने नीति र कार्यक्रम नेकपा एमालेसँग मात्र भएको उनले दाबी गरे ।

प्रतिक्रिया दिनुहोस
Advertisement