काठमाण्डु-प्रधानमन्त्री केपी शर्मा ओलीले नवनियुक्त मुख्यसचिव एकनारायण अर्याललाई बधाई दिएका छन् । उनले राज्यका हरेक निकायलाई जबाफदेही बनाउन पनि सुझाव दिएका छन् ।
‘नागरिकलाई सेवा डेलिभरी दिन, विकास आयोजनालाई अगाडि बढाउन, सुशासन कायम गर्न कर्मचारी प्रशासन चुस्त हुनुपर्छ’, प्रधानमन्त्री ओलीले निर्देशन दिँदै भने, ‘यसमा कर्मचारी प्रशासनको ठुलो भूमिका रहन्छ ।’
सामाजिक सञ्जालमा उनले लेखेका छन्– ‘सरकारले नीतिगत नेतृत्व मात्र गर्छ, कार्यान्वयन प्रभावकारी हुन कर्मचारी प्रशासनको ठुलो भूमिका हुन्छ । सरकारहरू आवधिक हुन्छन्, निजामती प्रशासन स्थायी सरकार हो । हरेक निकायका अधिकारीलाई आफ्नो निकायको कामप्रति जबाफदेही बनाउने, तत्काल गुनासो सुन्ने र समाधान गर्ने प्रणाली बनाउन हरेक निकायका अधिकारीले सार्वजनिक रूपमा सुनुवाइ गर्न मिल्ने गरी सामाजिक सञ्जालमा आ–आफ्नो कामको विवरण दिने पेज बनाउनु राम्रो हुन्छ ।’
‘सवारी चालक अनुमतिका लागि, अस्पतालमा सेवा लिन, नागरिकता, पासपोर्ट लिन किन लाइन बस्नु पर्छ ? विकास निर्माणका आयोजनाहरू किन ढिलाइ भइरहेका छन् ? यी सबै कुरामा सम्बन्धित अधिकारीले तत्काल जवाफ दिने र सम्बोधन गर्ने प्रणाली विकास गर्न यसले सहयोग पुग्छ’, उनले भनेका छन् ।
‘हामीसँग सबै क्षेत्रका गरी करिब चार लाख (निजामती, शिक्षक, सुरक्षा) राष्ट्र सेवक कर्मचारी छन् । कार्यसम्पादनमा उहाँहरूको सफलताले नागरिकमा सन्तुष्टि आउँछ, कामहरू अघि बढ्छन् र देश सफल हुन्छ । यस कामका लागि सफलता मिलोस् भन्ने कामना गर्दछु’, ओलीले भनेका छन् ।




प्रतिक्रिया