काठमाण्डु–प्रधानमन्त्री तथा नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले अव माओवादीलाई राष्ट्रिय पार्टी बन्न सकस रहेको बताएका छन् ।
शनिवार काठमाडौँमा एमाले कार्यकर्ताहरूलाई सम्बोधन गर्दै उनले नयाँ पार्टीले पनि भोट खाइदिने भन्दै माओवादी केन्द्रले मुस्किलले चार देखि पाँच लाख मत पाउने ठोकुवा गरेका हुन् ।
उनले २०८४ मा एमालेले एकल बहुमत ल्याउने दाबी गर्दै माओवादीलाई होसियार हुँदै सक्रिय हुन आग्रह गरे ।
मिसन ८४ आफूहरुका लागि निर्णायक बिन्दु भएको बताउँदै उनले भने ‘हाम्रा लागि मिसन ८४ यस्तो निर्णायक बिन्दु हो, हामी सफलता तर्फ, विजयको यात्रा तर्फ अघि बढ्यौँ भने कि हामी निर्णायक अवस्थामा पस्न वा जटिल स्थितिमा फस्न सक्छौँ । मिसन ८४ मा एकल बहुमत ल्याउन सक्ने आधारहरू छन् । त्यतिबेला हामीले सारा शक्ति लगाउनुपर्छ ।’
उनले जनतामा विश्वास जगाएर अबको निर्वाचनमा पहिलो दल बन्ने गरी अघि बढ्न आफ्ना कार्यकर्तालाई आग्रह समेत गरे ।
२०८४ सालको चुनावमा सचेत रहन कार्यकर्ताहरूलाई निर्देशन दिदै उनले थपे–‘हिजोका चुनावमा हाम्रो भोट कहाँ गयो त ? हुँदै नभएका पार्टीहरू जन्मिए, भाँडाको भात छैन खोइ भन्दा ती जन्मिएका खन्चुवाहरूले खाए होला नि । खान जन्मिएकाहरू छन् । अनि तिनका मुखमा गाँस चाहिँ कसरी पस्यो त ? त्यसकारण हामी होसियार हुनुपर्दछ, सक्रिय हुनुपर्दछ ।’




प्रतिक्रिया