काठमाण्डु – सर्वोच्च अदालतले प्रधानमन्त्रीसहित चार जना पूर्वप्रधानन्यायाधीहरुविरुद्ध परेको अवहेलना मुद्दाको पेशी तोके पनि सुनुवाई हुन सकेन ।
अदालतले प्रधानमन्त्री केपी शर्मा ओली र चार जना पूर्वप्रधानन्यायाधीशहरु मीनबहादुर रायमाझी, अनुपराज शर्मा, कल्याण श्रेष्ठ र सुशीला कार्कीविरुद्धको अवहेलना मुद्दामा पेशी तोकेको थियो । इजलासले आजको मुद्दा हेर्न नभ्याइनेमा राखिएको छ ।
अवहेलना मुद्दाको पेशी न्यायाधीश ईश्वरप्रसाद खतिवडा र हरिप्रसाद फुँयालको संयुक्त इजलासमा तोकिएको थियो । गत माघ १३ गते प्रधानमन्त्री ओलीविरुद्ध अधिवक्ता कञ्चनकृष्ण न्यौपाने र कुमार शर्मा आचार्यले मुद्दा दायर गरेका थिए ।
चार पूर्वप्रधानन्यायाधीशविरुद्ध अधिवक्ता राजाराम घिमिरेले मुद्दा दायर गरेका थिए । यसअघि न्यायाधीश मनोजकुमार शर्माको एकल इजलासले ओलीसहित पूर्वप्रधानन्यायाधीशलाई आफैं उपस्थित भएर लिखित जवाफ पेश गर्न आदेश दिएको थियो ।
आदेश अनुसार नै प्रधानमन्त्री ओली र चार पूर्व प्रधानन्यायाधीशले लिखित जवाफ पेश गरेका थिए । संसद विघटनविरुद्धको मुद्दामा सर्वोच्च अदालतको संवैधानिक इजलासमा सुनुवाइ भइरहेका बेला उक्त मुद्दालाई प्रभावित पार्ने गरी अभिव्यक्ति दिएको भन्दै उनीहरुविरुद्ध अवहेलना मुद्दा दायर भएको थियो ।




प्रतिक्रिया