काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि प्रसाद सापकोटाबीचको द्वन्द्व उत्कर्षमा पुगेको छ ।
अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी)को विषयलाई लिएर प्रधानमन्त्री ओली र सभामुखबीचको विवाद उत्कर्षमा पुगेको हो । प्रधानमन्त्री अोलीले सभामुखले सरकारले ल्याएका प्रस्ताव रोक्न नमिल्ने बताउँदै आएका छन् ।
‘एमसीसी संसदले निर्णय गर्नुपर्ने हो । निर्णयका लागि हामीले संसदमा प्रस्तुत गरेका छौं । सभामुखले निर्णयका लागि पेश गर्नुहुन्न,’ ओलीले केही समयअगाडि राजधानीमा भएको एक कार्यक्रममा असन्तुष्टी पोख्दै भने, ‘के हो यो ? सभामुखले कुनै मर्यादा मान्नुपर्दैन ? सरकारले पेश गरेको प्रस्ताव रोक्ने अधिकार सभामुखलाई हुन्छ ?’
शनिबार बसेको सर्वदलीय बैठकमा पनि प्रधानमन्त्री अोलीले सभामुखले एमसीसी रोकेकोमा असन्तुष्टी जनाएका थिए । उनले सभामुख सापकोटाले दुई बर्षदेखि एमसीसी रोकेर राखेको भन्दै सरकारको प्रस्ताव स्वेच्छाचारी ढंगले रोक्न नमिल्ने धारणा राखेका थिए ।
यता सभामुख सापकोटाले कसैको दबाबमा काम नगर्ने बताएका छन् । प्रधानमन्त्री ओलीतर्फ संकेत गर्दै उनले आफू कसैको दबाबमा काम नगर्ने बताएका हुन् ।
आइतबार नेपाल पत्रकार महासंघको नवनिर्वाचित पदाधिकारीको पद हस्तान्तरण कार्यक्रममा बोल्दै सभामुख सापकोटाले आफू जनताको हितमा काम गर्ने भन्दै एमसीसीको विपक्षमा उभिएको बताए ।
‘सबै मान्छेलाई भ्रममा पार्न सकिँदैन । यो व्यक्तिको टक्कर होइन् । यो टक्कर लोकतान्त्रिक आन्दोलनसँग सम्बन्धित छ । मैले लुरुलुरु काम गरिरहेको छु । मैले जे गरेको छु देश र जनताको हितका पक्षमा काम गरेको छु । मैले काम स्वतन्त्रा पूर्वक काम गर्नुपर्छ । कसैको दबाब, प्रभाव, विवेकमा काम गरेको छैन् । मैले फेयरनेस पनि हेर्नुपर्छ’, उनले भने ।
सभामुख सापकोटाले आफू जुनसुकै कुराको त्याग गर्न तयार रहेको बताउँदै सत्यको पक्षमा नतिजा आउने बताए ।
‘सार्वभौमसत्ता खासखास बेलामा सभामुखमा केन्द्रीत हुन्छ । सभामुखले सबैको भावनालाई बुझेर अगाडि बढ्नुपर्छ । तटस्थ होस भनेर होइन मेरो पक्षमा काम होस् भनेर अन्र्तनिहीत होस् भन्छन्’, उनले भने, ‘कसैको दबाबमा पर्नेछैन् । कुनै कुराको त्याग गर्न मलाई कठिनाई हुनेछैन् । यो बहसमा सामेल हौं । अन्तिममा हामी निराश हुनुपर्ने छैन् । यसले सत्यको अन्वेषण गरिछाड्छ ।’
प्रधानमन्त्री अोली जुनसुकै अवस्थामा एमसीसी पारित गर्ने मनस्थितिमा पुगेका छन् । उनले एमसीसी पास गर्ने प्रक्रिया अगाडि बढाउन पनि निर्देशन दिइसकेका छन् । प्रधानमन्त्री अोलीलाई नेपाली कांग्रेसले पनि साथ दिइरहेको छ । कांग्रेसले तत्काल एमसीसी पारित गर्न सरकारसँग माग गर्दै आइरहेको छ । सभामुख सापकोटाले एमसीसी पारित गर्न नहुने भन्दै एमसीसी रोकेर राखेका छन् ।




प्रतिक्रिया