काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली निर्वाचन आयोग पुगेका छन् । प्रधानमन्त्री ओली मंगलबार मध्याह्न पौने १२ बजे कान्तिपथस्थित आयोगको कार्यालय पुगेका हुन् ।
प्रधानमन्त्री ओलीसँगै महासचिव विष्णुप्रसाद पौडेल, स्थायी कमिटी सदस्य सुवास नेम्वाङलगायतका नेताहरु आयोगमा पुगेका छन्।
निर्वाचनको तयारी र नेकपा विवादका विषयमा छलफल गर्न माघ १६ गते आयोगले दुवै पक्षलाई बोलाएको थियो । नेकपाको अर्का प्रचण्ड–नेपाल समूहले आयोग पुगेर आधिकारिकता दाबी गरिसेकेका छन् तर प्रधानमन्त्री ओली भने आयोग गएका थिएनन् ।
प्रधानमन्त्री ओलीले पुस ५ गते संसद विघटन गरेपछि विघटित नेकपाका दुवै समूह (ओली र प्रचण्ड–नेपाल) ले आफूलाई आधिकारिकता दाबी गर्दै आइरहेका छन् । आज निर्वाचन आयोगमा प्रधानमन्त्री ओलीले मन्त्रिपरिषद्ले सोमवार गरेको निर्णयबारे जानकारी गराउनेछन् ।
साथै उनले आफ्नो समूहलाई आधिकारिक भएको दाबी गर्ने र वैशाख १७ र २७ गतेका लागि तोकिएको प्रतिनिधि सभा चुनावको तयारीबारे छलफल गर्ने बुझिएको छ ।
सरकारले पहिलो चरणमा चारवटा प्रदेश र दोस्रो चरणमा तीनवटा प्रदेशमा चुनाव गर्नेगरी सोमवार निर्णय गरेको थियो । प्रधानमन्त्री ओली निर्वाचन आयोग आउने भएसँगै सुरक्षा व्यवस्था कडा पारिएको छ ।




प्रतिक्रिया