देउवालाई ओलीको प्रश्न : विदेशीमन्त्री आयो कि थरथर काप्ने! जियालाई किन तिब्बती गुम्बा जान दिएको ?


काठमाण्डु – नेकपा एमालेले अमेरिकी उपविदेशमन्त्री तिब्बती शरणार्थी शिविरभित्र गएकोप्रति संसदमा प्रश्न उठाएको छ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संसदमा बोल्दै उपविदेशमन्त्री उज्रा जिया तिब्बती शरणार्थी शिविर  ‘गुम्बा’को भ्रमण गरेको लगायत परराष्ट्र नीतिका विपरित गरेका कार्यप्रति आपत्ति जनाएका हुन् ।

उनले आफ्नै देशभित्र पनि आफू लिमी भ्याली जाँदा अनुमति लिएर जानु परेको सुनाए । उनले अघि भने, ‘विदेशीमन्त्री आएर इजाजत लिनुपर्छ कि पर्दैन ? लिनुपर्छ भने कसरी दिनुभयो ? कसको पक्षमा इजाजत दिनुभयो ? कसको विपक्षमा दिनुभयो ?’

उनले सरकारलाई छिमेकी सन्बन्धका संवेदनशीलता बुझ्छ कि बुझ्दैन भन्ने प्रश्न गरेका छन् । ‘कति लाचारी ? सत्ता कति प्यारो ? बात्तैपिच्छे सत्ता फुत्की हाल्छ ? कस्तो अचम्म ?’ उनले प्रश्न गर्दै भने, ‘गठबन्धन बलियो छ भन्नुहुन्छ । तर एउटा सहायक विदेशमन्त्री आयो भने थुरथुर। अनि कसरी आफ्नो स्वाधिनताको रक्षा गर्नुहुन्छ ।’

सरकारलाई अस्थायी, म्यादी सरकार भन्दै आलोचना गरेका उनले परराष्ट्र नीतिमा जे पनि गर्ने छुट नभएको बताए । नेपालले एक चीन नीतिमा प्रतिवद्धता जनाएको भन्दै उनले छद्म नीति नलिन आग्रह गरेका छन् ।

ओलीले अघि भने, ‘सम्मानीय प्रधानमन्त्रीज्यू, मैले उठाएका प्रश्नहरुको जवाफ आउनुपर्छ । नेपाल एक चीन नीतिमा छ कि छैन ? सन्तुलित, एउटाका विरुद्ध अर्कोको भूमि प्रयोग हुन नदिने नीतिमा अडिग छ कि छैन ?’

साथै उनले सत्ता गठबन्धन सरकारले कन्फरटेबल हुनेबाहेक अन्य केही गर्न नसकेको टिप्पणी गरे । यो सरकारले परराष्ट्र नीतिलाई कमजोर बनाउँदै गएको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस
Advertisement