काठमाण्डु – अमेरिकी सहायक विदेश मन्त्री डोनाल्ड लुले प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीसँग भेटवार्ता गरेका छन् । सहायक विदेश मन्त्री लुले शुक्रबार बिहान सिंहदरबारस्थित एमाले संसदीय दलको कार्यालयमा अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
ओलीसँगको भेटघाटका क्रममा नेपाल–अमेरिका सम्बन्धका विविध पक्षबारे कुराकानी भएको थियो । सहायक विदेशमन्त्री लुले अमेरिकी मिलेनियम च्यालेञ्ज कर्पोरेशन (एमसीसी) का विषयमा समेत चासो राखेको एमाले विदेश विभाग प्रमुख डा. राजन भट्टराईले जानकारी दिए ।
‘उहाँले एमसीसी के गर्नुहुन्छ ? भनेर प्रश्न गर्नुभयो । जवाफमा अध्यक्षज्यूले अहिले आफूहरु सरकारमा नरहेको र पारित गर्ने विषयमासमेत सत्ता पक्षबाट कुनै छलफल नभएको जवाफ दिनुभयो,’ भट्टराईले काठमाण्डुपाटीसँग भने ।
साथै अध्यक्ष ओलीले कोरोना भाइरसको महामारीमा गरेको सहयोग र कोरोनाविरुद्धको भ्याक्सिन उपलब्ध गराएकोमा अमेरिकालाई धन्यवाद दिएका थिए ।
भेटमा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङ, विष्णु रिमाल र डा. राजन भट्टराई सहभागी थिए । बुधबार साँझ काठमाण्डु आइपुगका लुले बिहीबार साँझ प्रधानमन्त्री शेरबहादुर देउवासँग भेटवार्ता गरेका थिए । साथै उनले अन्य राजनीतिक दलका शीर्ष नेताहरुसँग भेटवार्ता गर्ने कार्यक्रम रहेको छ ।
शेरबहादुर देउवा नेतृत्वको सरकारले सम्झौता गरेको एमसीसी परियोजना दलहरुबीचको खिचातानीका कारण सदनबाट पास हुन सकेको छैन् । दलहरुबीच राष्ट्रिय सहमती बन्न नसक्दा एमसीसी पसरयोजना पारित हुन नसकेको हो । अमेरिकाले पनि एमसीसी पास गर्न सरकारलाई पटकपटक दबाब दिँदै आएको छ।




प्रतिक्रिया