काठमाण्डु– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले काठमाण्डुको जनताले नपत्याउने अवस्था भएपछि बालेन(बालेन्द्र शाह) झापातिर आएको बताएका छन् ।
सोमबार झापामा आयोजित मतदाता भेटघाट कार्यक्रममा उनले आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था नभएको कारण काठमाण्डु जिति सकेको मान्छेले, त्यहाँबाट फेरि उठ्ने आँट नगरेको बताए ।
उनले भने, ‘हामीले थाहा पाउनुपर्छ, आफ्नै जिल्लाबाट कोही मान्छे किन चुनाव लड्दैँन् । आफ्नै जिल्लाका कसैले पत्याउने अवस्था छैन् । त्यहाँ ढाँट्न सकिदैँन् । काठमाण्डुमा जितिसकेको मान्छेले, त्यहाँबाट किन आँट गर्दैन् फेरि लड्नको लागि । किन यहाँ आउनुपर्यो । यो कुरा साथीहरुले बुझ्नु भएको छ ।’
यस्तै, उनले सामाजिक न्याय र समानताको आधारमा सामाजिक सद्भावको कुरा आउने र सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्ने ठाँउमा अहिले कता कता मधेशी र पहाडी भन्ने कुरा सुन्न आएको बताए ।
उनले भने, ‘अर्को कुरा मैंले कता कता मधेशी–पहाडी भन्ने सुनिरहेको छु । त्यस्तो कुरा गर्नु हुदैँन । सामाजिक न्याय र समानताको कुरा गर्नुपर्छ । त्यसको आधारमा सामाजिक सद्भावको कुरा गर्नुपर्छ, सामाजिक सद्भावको आधारमा राष्ट्रिय एकताको कुरा गर्नुपर्छ । हामी सबै एकताबद्ध भएर आफ्नो आफ्नो ठाँउ, गाँउ, जिल्ला बनाउने हो ।’
देश जातले होइन्, विचार, दृष्टिकोण, नीति, योजना, संकल्प र प्रयासले बन्ने पनि उनको भनाई छ ।
यस्तै, उनले ०५१ सालमा सुरु भएको सामाजिक सुरक्षा भत्ता अघिल्लो पटक प्रधानमन्त्री हुँदा आफूले ४ हजार पुर्याएको बताए । उनले भने, ‘करिब ३८ अर्ब पैसा त्यसमा खर्च भइरहेको छ। ठुलो रकम त्यसमा खर्च भइरहेको छ, ज्येष्ठ नागरिक, एक महिला, अशक्त भएका व्यक्तिहरू सबैले त्यसको लाभ लिइरहेका छन्।’
ओलीले अब सिलिन्डर पनि नचाहिने गरी घरघरमा पाइपबाट ग्यास पुर्याउन सकिने बताए । दैलेखमा ग्यास निकाल्न सुरु गरेपछि विदेशबाट आयात रोकिने उनको भनाइ थियो। ‘पानीजस्तो ट्यांकमा राख्न सकिन्छ र घरघरमा पाइपबाट पुर्याउन सकिन्छ। त्यसका लागि कुनै सिलिन्डर पनि चाहिँदैन,’ ओलीले भने।




प्रतिक्रिया