काठमाण्डु – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । गृहमन्त्री खाँणले बालकोट पुगेर एमाले अध्यक्ष ओलीसँग भेटवार्ता गरेका हुन् ।
प्रधानमन्त्रीको सन्देश लिएर बुधबार बिहान गृहमन्त्री खाँण सबैभन्दा पहिले नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ निवास खुमलटार पुगेका थिए । त्यसलगत्तै उनी नेकपा एमाले अध्यक्ष ओली निवास बालकोट पुगेका हुन्।
उनीहरुबीचमा एमसीसी पास गर्ने सम्बन्धमा छलफल भएको एमाले अध्यक्ष ओलीका सञ्चार सहयोगी रामशरण बजगाँईले जानकारी दिए ।
‘गृहमन्त्रीज्यू र अध्यक्षजूबीच एमसीसी संसदबाट अनुमोदन गर्ने विषयमा छलफल भयो । गृहमन्त्रीज्यूले एमसीसी पास गर्न सहयोग माग्नुभयो तर अध्यक्षज्युले एमसीसी प्रक्रियामा सहभागी हुन पहिला एमालेलाई न्याय दिनुपर्ने बताउनुभयो,’ बजगाँईले भने ।
अध्यक्ष ओलीले एमसीसीका विषयमा एमालेको अडान कायमै राखेका छन् । ‘संसदको सबैभन्दा ठूलो दल एमालेमाथि अन्याय भएको छ । कानुन सबै दललाई समानरुपमा लागू गर्नुपर्नेमा त्यो गरिएन । एमसीसीका विषयमा एमाले स्पष्ट छ । पहिला हामीलाई न्याय दिनोस्, अनि मात्र हामी एमसीसी प्रक्रियामा सहभागी हुन सक्छौं,’ अध्यक्ष ओलीले गृहमन्त्री खाणलाई भने ।
प्रतिनिधिसभाको बिहीबार बस्ने बैठकमा एमसीसीबारे बहस हुँदैछ र बिहीबार नै अनुमोदन गर्ने तयारी गरिएको छ । सत्तारुढ पाँच दलमध्ये एमसीसी अनुमोदन गर्ने पक्षमा नेपाली कांग्रेस मात्र रहेको छ । बाँकी नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, नेपाल र राष्ट्रिय जनमोर्चाले संशोधन नगरी एमसीसी पास गर्न नसकिने बताएका छन् ।
एमसीसी पास गर्ने विषयमा सत्ता साझेदार दलभित्रै एक्लिएको कांग्रेस प्रमुख प्रतिपक्षी दल नेकपा एमालेसँग हात मिलाउने प्रयासमा छ ।एमसीसीलाई लिएर सरकार अप्ठेरोमा परेपछि प्रधानमन्त्री शेरबहादुर देउवाले गृहमन्त्री खाणलाई सहमति जुटाउन एमाले अध्यक्ष ओलीकहाँ पठाएका हुन् । मंगलबार ओली आफै प्रधानमन्त्री देउवालाई भेट्न बालुवाटार पुगेका थिए ।




प्रतिक्रिया