काठमाडौं – प्रधानमन्त्री केपी शर्मा अोलीले नेकपा नेता भीम रावललाई पार्टीको विरुद्धमा नबोल्न सुझाव दिएका छन् ।
बालुवाटारमा भएको एक कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले नेता भीम रावललाई लक्षित गर्दै पार्टीभित्र विरोध गर्नेहरु बढेको बताए ।
उनले रावलतर्फ संकेत गर्दै पार्टीमा रहेर समर्थनमा बोल्न नसकेको बताए । साथै प्रधानमन्त्री ओलीले कुनै कुण्ठा नपाल्न आग्रह गरेका छन् ।
‘हाम्रै केही मान्छेहरु व्यक्तिगत आग्रह, पूर्वाग्रह, कुण्ठा विभिन्न कुराले पनि खत्तम भो, आलोचना र विरोधबाहेक केही छैन । पार्टीमा रहेर पार्टीको समर्थनमा बोल्न नसक्ने’, उनले भने, ‘पार्टीको सरकार यति सफलताका साथ अगाडि बढेको छ, त्यसको समर्थनमा बोल्न नसक्ने । विरोधमै मात्रै बोल्ने । यस प्रकारको कुण्ठाग्रस्त हुनुहुँदैन । यस्ता कुण्ठाहरुले कुनै सफलतामा कसैलाई पुर्याउँदैन । कुनै प्रेस्टिज पनि माथि उठ्दैन ।’
प्रधानमन्त्री अोलीले विश्वभर कम्युनिष्ट आन्दोलन सिद्धिएका बेला नेपालमाभने थप मजबुत बन्दै गएको बताए ।
‘दुनियाँमा कम्युनिस्ट आन्दोलन सिद्धिएका बेला नेपालमा कम्युनिस्ट आन्दोलन यति मजबुत भएको छ, लगभग दुई तिहाईको सरकार छ’, प्रधानमन्त्री अोलीले भने, ‘नेपालको कम्युनिष्ट आन्दोलन दुनियाँका लागि दृष्टान्त भएको छ । देश विकासका निम्ति आवश्यकता थियो । र, यो हामीले हासिल गरेका छौं । यसको महत्वलाई हामीले बुझ्नुपर्यो ।’
प्रधानमन्त्री ओलीले कसैलाई कोही मान्छे मन नपरे नपरोस भन्दै आफूहरु नीतिगत रुपमा ठिक भएको बताए ।
‘कोही मान्छे मन पर्दैन होला । के कारणले मन पर्दैन, त्यो पनि मलाई थाहा छैन । कुनै आनीबानीमा कमी देख्नुहुन्छ भने भन्नोस् । व्यवहारमा कमी देख्नुहुन्छ भने भन्नोस् । क्रियाकलापमा कमी देख्नुहुन्छ भने भन्नोस्’, उनले भने, ‘नीतिहरुमा हामीले ठीक ढंगले देशलाई हाँकेका छौं । प्रतिक्रियावादीहरुलाई पराजीत गरेका छौं । सफल ढंगले नेतृत्व गरेका छौं ।’
प्रधानमन्त्री ओलीले प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसलाई विरोध गर्ने प्रवृति त्याग्न आग्रह गरेका छन् । उनले सरकार नीतिगत रुपमा अगाडि बढेको भन्दै अब पूर्व–पश्चिम रेल चल्ने बताए । उनले राजतन्त्र फालिएको , संविधान बनाइएको, नाकाबन्दी हटाइएको उदाहरण दिँदै ग्यास पेट्रोलियमका पाइप उद्घाटन गरिएको बताए ।
‘अनि फेरि पनि विरोधै गर्नुपर्ने कारण के आइलाग्यो ? प्रतिक्रियावादीलाई पराजित गरिया छ’, उनले भने, ‘रेल ल्याउँदैछौं । अब पूर्व–पश्चिम रेल पनि चलाउँदैछौं । अनेक ठूला–ठूला कामहरु हुँदैछन् । सुधारका ठूला कामहरु हामी गर्दैछौं ।’
प्रधानमन्त्री अोलीले विरोधीहरु छटपटाउन थालेको बताए । ‘अब विस्तारै विरोधीहरुका सटर बन्द हुँदै जान्छन्’, उनले भने ।
साथै प्रधानमन्त्री अोलीले राष्ट्रियसभामा प्रदेश नम्बर २ मा २ वटा सिट हात पारेको दाबी गरे ।
‘प्रदेश नम्बर दुईबाट हाम्रो एक सीट पनि थिएन राष्ट्रिय सभामा । हाम्रो नोक्सान पनि भएको थिएन यसपल्ट । तर, हामीले दुईवटा सीट आफूले लिने, दुईवटा सीट अर्कोलाई दिने गरेर दुईवटा सीटको लाभमा सहमति गर्यौं’, उनले पार्टीका नेताहरुतर्फ संकेत गर्दै भने, ‘एकथरिको रोई कराई उधुमसँग भयो । ‘बालुवाटारबाट कालो धुवाँको मुस्लो निक्ल्यो ! दुईटा सीट सित्तै थपियो पार्टीमा बर्बाद भो, अचम्मका कविता ! कविहरु पनि नयाँ नयाँ खालका । अचम्म अचम्मका कविता ।’




प्रतिक्रिया