काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा अोली राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेट्न शीतल निवास पुगेका छन् ।
पछिल्लो समय नेपाल कम्युनिष्ट पार्टीको विवाद चर्किरहेका बेला प्रधानमन्त्री ओली राष्ट्रपति भेट्न शीतल निवास पुगेका हुन् । नेकपा सचिवालय बैठक १३ गते बस्दैछ । सोही विषयमा छलफल गर्न प्रधानमन्त्री ओली शीतल निवास पुगेको स्रोतले जानकारी दियो ।
सत्तारुढ दलको विवाद समाधानका लागि राष्ट्रपति भण्डारीले सक्रियता देखाउँदै आएकी छन् । सचिवालय बैठकको पूर्वसन्ध्यामा प्रधानमन्त्री ओली र राष्ट्रपतिबीचको भेटवार्तालाई अर्थपूर्ण रुपमा हेरिएको छ ।
यसअघि राष्ट्रपति भण्डारीले नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, उपाध्यक्ष वामदेव गौतमलगायत नेकपाका नेताहरुलाई बोलाएर पार्टीको विवाद हल गर्न आग्रह गरेकी थिइन् ।
अध्यक्ष प्रचण्डले गत कात्तिक २७ गते बसेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गरेसँगै चर्किएको नेकपाको विवाद उत्कर्षमा पुगेको छ । प्रधानमन्त्री अोलीले प्रचण्डले आफूमाथि तथ्यहिन आरोप लगाएको भन्दै खण्डन स्वरुप १३ गतेको सचिवालय बैठकमा राजनीतिक प्रस्ताव पेश गर्ने भएका छन् ।




प्रतिक्रिया