कोशीका मुख्यमन्त्री कार्कीले ओलीलाई भनेः तपाईंले भन्दैमा पद छाड्दिन, मलाई दलको ह्वीप लाग्दैन

कोशीका मुख्यमन्त्री कार्कीले ओलीलाई भनेः तपाईंले भन्दैमा पद छाड्दिन, मलाई दलको ह्वीप लाग्दैन

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु–कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कार्कीले एमाले अध्यक्ष केपी ओलीलाई सजिलै पद नछाड्ने सन्देश दिएका छन् ।
एमाले र नेपाली कम्युनिष्ट पार्टी (नेकपा) बीच शनिबार प्रदेश सरकारहरुमा सहकार्य गर्नेबारे तीन बुँदे लिखित समझदारी भएको थियो ।

उक्त समझदारीअनुसार कोशी प्रदेश सरकारको नेतृत्व एमालेले लिनेछ । तर, ओलीले हालका मुख्यमन्त्री कार्कीको विकल्प खोजेका छन् । प्रदेशसभा संसदीय दलका उपनेता तिलकुमार मेन्याङ्बोलाई मुख्यमन्त्री बनाउने तयारीमा ओली छन् ।

ओलीले मेन्याङ्बोलाई काठमाण्डु बोलाएर मुख्यमन्त्रीको जिम्मेवारी लिन तयार रहन भनिसकेका छन् ।


नेकपा संयोजक प्रचण्डसँग तीन बुँदे समझदारीमा हस्ताक्षर गरेर गुण्डु पुगेका ओलीलाई शनिबार साँझ मुख्मयन्त्री कार्कीले भेटेका थिए ।

कार्कीले ओलीसामु आफू पनि पार्टीको केन्द्रीय सचिव भएकाले अर्को दलसँग भएको सहमतिका आधारमा पद नछाड्ने अडान राखे ।

उनले आफू धारा १६८ (५) अनुसार स्वतन्त्र व्यक्तिका हैसियतले मुख्यमन्त्री नियुक्त भएकाले पार्टीले हटाउन नसक्ने तर्क पनि कार्कीले राखे ।

‘म धारा ७८ (५) अनुसार नियुक्त भएको हुँ’, कार्कीको भनाइ उद्धृत गर्दै उनका एक सल्लाकारले काठमाण्डु पाटीसँग भने ‘मलाई दलले हटाउन सक्दैन ।’

आफू स्वतन्त्र हैसियतमा प्रदेश सभाका बहुमत सदस्यको समर्थनमा मुख्यमन्त्री नियुक्त भएकाले त्यस्तो मुख्यमन्त्रीले राजीनामा दिँदा संवैधानिक संकट आउने तर्क पनि उनको छ ।


यद्यपि उनले आफ्नो विकल्प खोज्ने नै भए पनि पार्टी सचिवालयले औपचारिक निर्णय गर्नुपर्ने बताए ।

अन्यथा संसदमा आफूविरुद्ध अविश्वास प्रस्ताव ल्याउन उनले चुनौती दिए । अविश्वास प्रस्ताव आएको खण्डमा आफ्नो पक्षमा बहुमत जुटाएर सरकारलाई निरन्तरता दिन सकिने निस्कर्षमा कार्की रहेको दाबी श्रोतको छ ।

‘दल नेताको हैसियतमा नभएर प्रदेशसभाको विश्वास प्राप्त गरेर व्यक्तिगत रुपमा मुख्यमन्त्री भएको हुँ’, कार्कीले ओलीलाई भने, ‘मैले राजीनामा दिँदा अर्को सरकार बन्न संवैधानिक जटिलता छ ।’ कार्कीले स्वतन्त्र रुपमा नियुक्त मुख्यमन्त्रीलाई दलले ह्वीप लगाउन नमिल्ने जिकिर पनि गरेका छन् ।

सर्वोच्च अदालतले नै त्यस्तो मुख्यमन्त्रीलाई दलीय ह्वीप नलाग्ने नजिर स्थापित गरिरहेको कार्कीले बताएका छन् ।


किचन क्याबिनेटमा रहेका कार्कीसँग किन रिसाए ओली ?
कार्की लामो समयदेखि ओली खेमामा थिए । एउटै जिल्ला झापाका ओली र कार्कीबीच नेता र कार्यकर्ताभन्दा पनि परिवारका सदस्यको जस्तो सम्बन्ध थियो ।

एमाले वृत्तमा ओलीका अगाडि ‘सबै कुरा निर्धक्कसँग राख्न सक्ने’ नेताको छवि छ कार्कीको छ ।

तर, पछिल्लो समय भने उनीहरुबीचको सम्बन्ध ‘नदीको दुई किनारा’ जस्तै छ । खास गरी गत भदौ २३/२४ को जेनजी विद्रोहपछि कार्कीको ओलीप्रतिको पुरानो दृष्टिकोणमा परिवर्तन आयो ।

उनले पार्टीभित्र ओलीको विकल्प खोजिनुपर्ने बताउन थाले । २३ र २४ भदौको घटना हुनुमा ओली कार्यशैली जिम्मेवार रहेको निस्कर्ष कार्कीको छ । उनी खुलेरै पार्टी पुनर्गठनको पक्षमा लागेका छन् ।

रामबहादुर थापा बादल संयोजकत्वको पार्टी पुनर्गठन कार्यदललाई सुझाव दिने क्रममा पनि कार्कीले ओली नेतृत्वमा पार्टीले ‘जनमत फिर्ता गर्न नसक्ने’ बताएका थिए ।

आफ्नो विकल्प खोज्ने लाइनमा उभिएका कारण ओली कार्कीसँग ‘फायर’ छन् । काँग्रेससँगको सत्ता सहकार्यकै समयमा ओलीले कार्कीलाई मुख्यमन्त्रीबाट बिदा दिन खोजेका थिए ।

तर, काँग्रेस सभापति गगनकुमार थापा र उपसभापति विश्वप्रकाश शर्माले अमुक व्यक्तिभन्दा पनि सबै प्रदेशमा सरकारको नेतृत्व परिवर्तन गर्दा राम्रो हुने अडान लिएपछि ओली पछि हटेका थिए ।