काठमाण्डु – नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले ओली सरकारको पालामा अमेरिकी ‘स्टेट पार्टनरसिप प्रोग्राम’ (एसपीपी)सम्झौता नभएको दावी गरेका छन् । बिहीबार बसेको प्रतिनिधिसभाको बैठकमा पोखरेलले ओली सरकारको पालामा एसपीपी भएको भन्ने माओवादी केन्द्रका अध्यक्ष प्रचण्डको अभिव्यक्ति भ्रामक रहेको भन्दै आपत्ति जनाए ।
‘ओली सरकारको पालामा एसपीपी भएको भन्ने अभिव्यक्ति एमालेविरुद्ध रचिएको षड्यन्त्र हो । यसलाई पुष्टि गर्न चेतावनी दिन्छु,’ उनले भने । पुष्टि गर्न नसक्ने हो भने आफ्नो अभिव्यक्तिप्रति माफी माग्नुपर्ने पोखरेलको माग छ । उनले एसपीपीबारे अहिले विवाद आएपछि एमालेको टाउकोमा हाल्ने प्रयास भइरहेको बताए ।
सन् २०१५ र २०१७ मा प्रस्तावमा आउन सुशील कोइराला र शेरबहादुर देउवा प्रधानमन्त्री रहेको भन्दै उनले केपी ओली नेतृत्वको सरकारको पालामा आफू रक्षामन्त्री रहेकाले यस्तो कुनै सम्झौता नभएको दाबी गरे ।
‘सबैभन्दा पहिले सन् २०१५ र २०१७ मा प्रस्ताव औपचारिक ढंगले सकारात्मक प्रतिक्रिया दिएर नेपालको तर्फबाट पठाइएको थियो । सन् २०१५ मा यो मुलुकमा कसको नेतृत्वमा सरकार थियो ? प्रधानमन्त्री को थियो ? प्रधानमन्त्री र रक्षामन्त्री हुने पार्टीले यसको बारेमा के भन्छ ? सन् २०१७ मा जसले यो एसपीपीलाई सकारात्मक ढंगले अमेरिकालाई पठायो त्यसबेला मुलुकलाई नेतृत्व गर्ने प्रधानमन्त्री को थियो ?,’ उनले भने, ’सन् २०१५ मा यो मुलुकको प्रधानमन्त्री र रक्षामन्त्री सुशील कोइराला हुनुहुन्थ्यो । २०१७ सालमा प्रधानमन्त्री शेरबहादुर देउवा हुनुहुन्थ्यो । रक्षामन्त्रालय कसले चलाएको थियो शेरबहादुरजीले राम्रोसँग बुझ्नुहुन्छ ।’




प्रतिक्रिया