काठमाण्डु- प्रधानमन्त्री केपी शर्मा ओलीको भारत भ्रमण तोकिएको मितिमा हुने सम्भावना कम भएको छ। प्रधानमन्त्री ओलीको आगामी भदौ ३० र ३१ (सेप्टेम्बर १५–१७) मा दुई दिने भारत भ्रमणको कार्यक्रम तय भएको थियो। यसअघि भारतीय विदेश मन्त्रालयका सचिव विक्रम मिस्री भदौ १ गते दुई दिने नेपाल भ्रमणमा काठमाडौं आएका थिए र सो अवसरमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको तर्फबाट प्रधानमन्त्री ओलीलाई भारत भ्रमणको निमन्त्रणा हस्तान्तरण गरेका थिए।
तर, प्रधानमन्त्री ओली चीन भ्रमणमा जानुअघि नै भारतीय पक्षले भ्रमण सर्न सक्ने सन्देश दिएको उच्चस्तरीय राजनीतिक स्रोतले जनाएको छ।
नेपाल–भारतबीचको पछिल्लो सीमा विवादका कारण तोकिएको मितिमा भ्रमण नहुने सम्भावना बढेको छ। परराष्ट्र मन्त्रालयका अधिकारीहरूले औपचारिक कारण नबताए पनि लिपुलेकको विषयमा उत्पन्न मतभेदकै कारण भ्रमण पछि धकेलिएको बुझिएको छ।
भारत र चीनले लिपुलेकलाई व्यापारिक मार्ग बनाउने विषयमा हालै गरेको सहमतिप्रति नेपालले आपत्ति जनाउँदै दुवै देशलाई कूटनीतिक नोट पठाएको थियो। चीन भ्रमणको क्रममा प्रधानमन्त्री ओलीले चिनियाँ राष्ट्रपति सी चिनफिङसँग भेटवार्तामा पनि उक्त सहमतिप्रति असन्तुष्टि व्यक्त गरेका थिए।
भारतले लिपुलेकलाई आफ्नो भूभाग भएको दाबी गर्दै आएको छ। ओलीले चीनसँगको भेटमा यस विषयमा आपत्ति जनाएपछि भारत असन्तुष्ट भएको विश्लेषण भइरहेका छन्।
प्रधानमन्त्री ओली यसै महिनाको अन्त्यमा अमेरिकाको संयुक्त राष्ट्रसंघ महासभामा सहभागी हुन जाने कार्यक्रम समेत छ। सेप्टेम्बर २२ मा न्यूयोर्क प्रस्थान गरी सेप्टेम्बर २३ देखि २९ सम्म महासभामा सहभागी हुने कार्यतालिका छ । भारत भ्रमण तोकिएको मितिमा हुन एक सातापछि भ्रमण हुने सम्भावना कम रहेको परराष्ट्र मन्त्रालयका अधिकारीहरू बताउँछन्।
यो बिचमा भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पनि व्यस्तता रहेको भारतीय पक्षको दाबी छ । प्रधानमन्त्री मोदीसँग चाँडै सिंगापुरका प्रधानमन्त्री र रसियाका राष्ट्रपतिको दिल्लीमा भेटवार्ता हुंदैछ ।
यदि तोकिएको मिति अर्थात भदौ ३० गते भ्रमण हुन नसके अर्को नयाँ मिति तय गरिने भए पनि यसबारे औपचारिक जानकारी आएको छैन। यस विषयमा थप जानकारी लिन प्रधानमन्त्रीका प्रमुख सल्लाहकार विष्णु रिमालसँग सम्पर्क गर्दा उनले फोन उठाएनन् ।
असार २०८१ मा ओली प्रधानमन्त्री बनेयता दिल्ली भ्रमणका लागि प्रयास भए पनि भारतीय पक्षबाट सकारात्मक जवाफ नआउँदा भ्रमण टरेको थियो। यसअघि ओलीले न्यूयोर्क र बैंककमा भारतीय प्रधानमन्त्री मोदीसँग छोटकरी भेट गरेका थिए भने आइतबार चीनमा भएको कार्यक्रमका क्रममा पनि संक्षिप्त कुराकानी भएको थियो।




प्रतिक्रिया