काठमाण्डु – नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ । ओली र नेपालबीच बुधबार साँझ नक्सालको मेरियट होटलमा भेटवार्ता भएको हो ।
करिब दुई घण्टा चलेको भेटवार्तामा पार्टीको विवादका विषयमा छलफल भएको बताइएको छ । प्रधानमन्त्री र नेता नेपालबीच सौहार्दपूर्ण वातावरणमा छलफल भएको बताइएको छ ।
प्रधानमन्त्रीको सचिवालयले दुवै नेताबीचको भेटवार्ता सकारात्मक भएको बताएको छ । प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले वार्ता सकारात्मक रहेको प्रतिक्रिया दिए ।
दुवै नेताबीच कोठा नम्बर ९०१ मा वार्ता भएको हो । उक्त रुम बुधबार दिउँसो नै प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतिलाल दुगडको नाममा बुक गरिएको थियो ।
गत वर्ष तत्कालिन संघीय समाजवादी पार्टीका सांसद सुरेन्द्र यादवलाई अपहरण शैलीमा होटलमा राखेको विषयले उक्त होटल निकै चर्चामा आएको थियो ।
सर्वोच्चको गत फागुन २३ गतेको फैसलापछि ब्युँतिएको नेकपा एमालेमा दुई पक्षबीच पछिल्लो समय विवाद उत्कर्षमा पुगेको छ ।
अध्यक्ष ओलीले नेपालसहितका नेताहरूलाई पार्टीबाट निलम्बन गरेका छन् भने नेपाल पक्षले समानान्तर कमिटी बनाइरहेको छ ।




प्रतिक्रिया