काठमाण्डु – सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच भेटवार्ता भएको छ ।
आइतबार साँझ बालुवाटारमा नेता नेपालसहित चार जना पूर्वएमालेका नेताहरुलाई बालुवाटारमा बोलाएर प्रधानमन्त्रीले छलफल गरेका थिए ।
भेटवार्ताका क्रममा प्रधानमन्त्री ओलीले आफूविरुद्ध षड्यन्त्र भइरहेको बताएका थिए । उनले नेता नेपालसँग पार्टी फुट्न लागेको भन्दै एकताको रक्षाका लागि सहयोग माग गरेका छन् । जवाफमा नेता नेपालले ‘एकता जोगाउने काम तपाईकै हातमा छ’ भनेर जवाफ फर्काएका थिए । स्थायी कमिटी सदस्य सुरेन्द्र पाण्डेले आफूहरुले पार्टी एकता रक्षाका लागि बैठक आह्वान गर्न आग्रह गरेको जानकारी दिए ।
‘हामीले अरु खालका गनगनका कुराले केही हुँदैन । कसले के भन्यो कसले गर्यो ती सामान्य र प्राविधिक कुराहरु हुन । पार्टीका अहिलेका समस्या जटिलतालाई समाधान गर्न बैठक आह्वान गर्नुपर्छ’, काठमाण्डुपाटीसँग कुरा गर्दै नेता पाण्डेले भने, ‘बैठकमा तपाईले आफ्ना ठोस प्रस्ताव लिएर आउनूस् । बैठक छिटो बोलाउनुस भनेर आएका छौं ।’
जवाफमा प्रधानमन्त्री ओलीले दुई अध्यक्षको सहमतिमा महासचिवले बैठक डाक्ने बताएका थिए । ‘दुई अध्यक्षबीचको सहमतिमा महासचिवले बैठक डाक्ने हो । उहाँले ठोस कुरा गर्नुभएन’, नेता पाण्डेले भने ।
नेताहरुले बैठक बोलाउन माग गरेपनि प्रधानमन्त्रीले त्यसलाई बेवास्ता गरेका थिए । उनले विषयवस्तुभन्दा बाहिर गएर आफ्नो स्वास्थ्यअवस्थाको जानकारी दिएर पठाएको पाण्डेले बताए ।
‘अपरेशनपछि म पूर्ण रुपमा स्वस्थ छु । ज्वरो पनि आएको छैन् । खोकी पनि लागेको छैन् । पहिले जुँगा पनि सेतो भएको थियो । आधा कालोकालो हुन थाल्यो । म स्वस्थ छु भन्नुभयो’, उनले भने ।
पार्टीका समस्या समाधान गर्न गएका नेताहरुलाई प्रधानमन्त्रीले जुँगाको कुरा सुनाएपछि नेताहरु रिसाएका छन् ।
‘पार्टी फूटको संघारमा रहेको अवस्थामा हामी चाँही कसरी समाधान गर्न सकिन्छ भनेर गम्भीर भएको अवस्थामा उहाँ भने जुँगाको प्रसंग निकाल्नुहुन्छ’, बैठकमा सहभागी ति नेताले भने, ‘बैठक बोलाउने विषयमा उहाँको चासो देखिएन । यो त केटाकेटीपन पो देखियो ।’




प्रतिक्रिया