चार महिनापछि पनि जम्न नसकेको ओली–नेपालको ‘केमेस्ट्री’

चार महिनापछि पनि जम्न नसकेको ओली–नेपालको ‘केमेस्ट्री’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ माधव कुमार नेपालबीच चार महिनापछि भेटवार्ता भएको छ । तत्कालिन नेकपाभित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला कात्तिक २८ गते बालुवाटारमा छलफल गरेर छुट्टिएका दुई नेताबीच चार महिनापछि आज एमाले पार्टी कार्यालय धुम्बाराहीमा भेट भएको हो ।

सर्वोच्च अदालतले गत फागुन २२ गते नेकपा खारेज गरेर नेकपा एमाले र माओवादी केन्द्र ब्यूँताएपछि ओली र नेपाल एउटै कित्तामा उभिएका हुन् ।

आजको भेटमा नेता नेपालले फागुन २८ गतेका निर्णय फिर्ता गर्न प्रधानमन्त्री ओलीलाई आग्रह गरे । उनले ओली पक्षले फागुन २८ गते एकलौटी रुपमा गरेका निर्णय फिर्ता गर्न आग्रह गरेका थिए ।

बैठकमा बोल्दै नेता नेपालले पूर्व एमाले जुन स्थानमा थियो त्यही हिसाबमा फर्किनुपर्ने अडान लिए । उनले पुराना निर्णय कार्यान्वयन गर्नका लागि कार्यदल बनाएर जान सकिने विकल्पसमेत बताएका थिए ।

‘हामी एउटै हौं । पूर्व एमाले जुन स्थानमा थियो संरचनाको हिसाबले पदाधिकारी, सदस्यहरुको हिसाबले फर्कौं’, उनले भने, ‘२८ गतेको बैठक वैधानिक छैन । त्यसलाई शून्य अवस्थामा पुर्‍याइदिऔं । त्यसपछि बसेर छलफल गरौं । कार्यदल पनि बनाउन सकिन्छ ।’

तर, प्रधानमन्त्री ओलीले आफ्नो अडान कायमै राखे । उनले बैठकले निर्णय गरिसकेकाले त्यसलाई उल्ट्याउन नमिल्ने बताए । आजको बैठकले दुवै पक्षबीच जारी मनमुटाव अन्त्य हुने आँकलन गरिएपनि त्यो पूर्ण हुन सकेन । दुवै पक्ष आफ्ना अडानबाट एक इञ्च पनि तलमाथि भएनन् । बरु एकले अर्कोलाई सिध्याउने गरी प्रस्तुत भए ।

‘यो निर्णय अर्को बैठकमा छलफल गर्न सकिन्छ । बैठक बसेर पनि निर्णय भइसकेकाले यसलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन्’, बैठकमा प्रधानमन्त्री अ‍ोलीले भने ।

ओली पक्षले पनि नेपाल समूहलाई ४ र ५ गतेका लागि राखेको गुटगत भेला स्थगित गर्न आग्रह गरेको थियो । तर, नेपाल पक्षले फागुन २८ गतेकाे निर्णय रद्द नगरे आफूहरु भेला जारी राख्ने अडान लिएकाे छ ।

नेपाल समूहका नेता भीम रावलले ओली पक्षलाई २८ गते गरेको निर्णय पार्टीको विधि, विधान र प्रणाली विपरित रहेकाले त्यो निर्णय फिर्ता लिन आग्रह गरेको जानकारी दिए ।

‘आज कुरा मिलेन । फेरि छलफल गर्ने कुरा भएको छ । तर कहिले कसरी भन्ने निश्चित भएको छैन’, नेता रावलले भने,‘ उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’

कुर्सी र टेबुलको रंग मिले पनि मिलेन ‘मन’

आजको बैठकमा अगाडि बस्ने चार जना नेताहरुलाई बस्ने व्यवस्था समान थियो । प्रधानमन्त्री ओली, नेता नेपाल, उपाध्यक्ष भीम रावल र महासचिव ईश्वर पोखरेललाई बस्ने व्यवस्था समान थियो ।

चार जना नेता बस्ने कुर्सी र टेबुल पनि उस्तै थिए । तत्कालिन नेकपा हुँदा अध्यक्ष ओली र प्रचण्डलाई बस्ने कुर्सी फरक भएको भन्दै विवाद भएको थियो । आज पनि सोही विषयलाई मध्यनजर गर्दै सबै नेताका समान आसनको व्यवस्था गरिएको बताइएको छ ।

बैठकमा प्रधानमन्त्री ओलीले आफूलाई सरकारबाट हटाउन खोजेको विषय कोट्याए । उनले आफूलाई ‘ढुंगामा बजारेको’ भन्दै माधव नेपालसँग असन्तुष्टी पोखे । उनले भने, ‘तपाईंहरूले त सक्ने भए मलाई के बाँकी राख्नुहुन्थ्यो । एउटा बच्चालाई लगेर ढुंगामा बजारेको जसरी तपाईंहरूले केही बाँकी राख्नुभएन । अदालतको फैसलापछि एउटा स्थितिले मेरो राजनीतिक जीवन जोगिएको हो नत्र सिध्याउनै लाग्नुभएको थियो ।’

माधव नेपालले पुरानै अवस्थामा फर्किऔ भनेर गरेको प्रस्ताव अध्यक्षले स्वीकार नगर्दा बैठकको अन्त्य टर्रो रुपमा भएको बताए । उनले भने, ‘सुरुवातमा राम्रो कुरा भयो । छुट्टिने बेलामा टर्रो कुरा भयो । यथास्थानमा रहने स्थिति बन्यो । सर्वोच्च अदालतले फैसला गरिसकेको अवस्थामा पूर्व एमालेको जुन पुरानो अवस्था हो, यो अवस्थामा पार्टीको संरचना, पदाधिकारी र सदस्य यथावत स्वीकार गर्ने स्थितिमा जाउँ भनी हामीले भन्यौ । पार्टीलाई एकताबद्ध बनाउँ, आन्दोलनलाई पनि अरु पार्टीलाई पनि समेटेर लैजाने काम गरौं भन्यौ । अरु कुरा भन्दा पनि २८ गतेको उहाँको आफ्नो सानो गुटको भेला हो, त्यसलाई उहाँले केन्द्रीय कमिटीको बैठकको नाम दिनुभएको छ । त्यसैमा कुरा मिलेन ।’

प्रचण्डसँग मिलेर ओलीलाई हटाउने षड्यन्त्र रचेका नेता नेपाललाई तत्कालिन नेकपा नामको विवाद किनारा लगाउँदै सर्वोच्च अदालतले फेरी एउटै कित्तामा उभ्याएको छ । तर, दुवै नेताबीच मन भने मिल्न सकेको छैन् ।