ओली–नेपालको इगोले फूटको संघारमा ‘नेकपा एमाले’

ओली–नेपालको इगोले फूटको संघारमा ‘नेकपा एमाले’

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – सर्वोच्च अदालतले फागुन १३ गते नेकपा एमाले र माअ‍ोवादी केन्द्र ब्यूँताएपछि सबैले पार्टी एक ढिक्का भएर अघि बढ्नेमा विश्वास गरेका थिए । तर, एमालेभित्रको किचलो झनै बढेर गएको छ । पार्टीमा केपी शर्मा अ‍ोलीले एकलौटी निर्णय गरेको आरोप लगाइरहेका माधव नेपाल फागुन २८ गतेको निर्णयले झनै चिढिएका छन् ।

प्रधानमन्त्री ओलीले फागनु २८ गते आफू निकट केन्द्रीय सदस्यहरुको बैठकबाट माधव नेपाल समूहका नेताहरुको जिम्मेवारी खोसेपछि विवाद उत्कर्षमा पुगेको हो । दुवै नेताबीच बोलचाल नै बन्द हुने सम्मको स्थिति सिर्जना भएका बेला चैत २ गते ओली र नेपाल समूहबीच धुम्बाराहीमा बैठक बस्यो ।

बैठकमा अ‍ोली पक्षबाट प्रधानमन्त्री अ‍ोलीसहित, उपप्रधानमन्त्री तथा महासचिव इश्वर पोखरेल, अर्थमन्त्री विष्णु पौडेल, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सुबासचन्द्र नेम्वाङलगायतका नेताहरु थिए भने नेपाल पक्षबाट नेता नेपालसहित नेताहरु भीम रावल, रघुजी पन्त, घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट लगायतका नेताहरु सहभागी भएका थिए ।

बैठकमा प्रधानमन्त्री ओलीले फागुन २८ गते गरेका निर्णय खारेज गर्नुपर्ने नेपाल पक्षले अडान लियो । नेता नेपालले बैठकमा भने, ‘अदालतको फैसलापछि पूर्व एमालेको जुन स्थान थियो, संरचना, पदाधिकारी र सदस्यका हिसाबले, त्यो ठाउँमा फर्कौं । २८ गतेको बैठक वैधानिक छैन, त्यसलाई शून्य स्थितिमा पु¥याउँ ।’

माधव नेपालको कुरा सुनेपछि प्रधानमन्त्री ओलीले केन्द्रीय सदस्यसहितको बैठकले गरेको निर्णय फिर्ता नहुने अडान लिए । ‘यो निर्णय अर्को बैठकमा छलफल गर्न सकिन्छ । बैठक बसिसकेकाले यसलाई प्रतिष्ठाको विषय बनाएर जानु जरुरी छैन्’, उनले भने ।

अ‍ोली समूहले पनि चैत ४ र ५ गतेको भेला स्थगित गर्न आग्रह गर्‍यो । तर, नेपाल पक्षले फागुन २८ का निर्णय फिर्ता नगरेसम्म आफ्ना कार्यक्रम स्थगित नहुने अडान दोहोर्यायो ।

परराष्ट्रमन्त्री प्रदीप कुमार ज्ञवालीले पार्टीभित्र देखा परेका अन्तरविरोध भए मिलेर जानुपर्ने बताए पनि अहिलेसम्म त्यो छाँटकाँट देखिएको छैन् ।

‘साझा अवधारण निर्माण गरेका छौं । सर्वोच्चको फैसलालाई अवसरको रुपमा लिएर जानुपर्छ । अन्तरविरोध भए मिलेर जानुपर्छ । २८ गते का बैठकका निर्णय । केही निर्णय पुनरावलोकन गर्ने भए छलफल गर्दै जाउँ । ५ गतेको भेला अन्त्य गरौं । छलफल निरन्तर जारी रहन्छ’, उनले भने ।

नेपाल समूहका नेता भीम रावलले ओली पक्षलाई २८ गतेको निर्णय फिर्ता लिन आग्रह गर्दै भने, ‘उहाँहरुले २८ गतेको निर्णय खारेज गर्नुभयो भने, हामीले हाम्रा तर्फबाट घोषणा गरेका कार्यक्रम स्थगित गर्छौँ, नत्र जारी राख्छौँ ।’

दुवै पक्षले आफ्ना अडानमा लचकता नदेखाएपछि बैठक निष्कर्ष विहीन रुपमा टुंगियो । चैत २ गतेको बैठकमा ओली समूहले गरेको आग्रह विपरित नेपाल पक्षले मंगलबार पत्रकार सम्मेलन गरेर ४ र ५ गतेको राष्ट्रिय भेलाका कार्यक्रम सार्वजनिक गर्‍यो । पत्रकार सम्मेलनमा बोल्दै नेता योगेश भट्टराईले प्रधानमन्त्री ओलीलाई इतिहासले कारबाही गर्ने भन्दै आँशु चुहाउने मान्छेसमेत नहोलान भन्दै चेतावनी दिए ।

‘आज उहाँले बालुवाटारबाट हामीलाई कारबाहीको धम्की दिनुभएछ । हामी एकपछि अर्को कारबाही भोग्न लामबद्ध भएका छौं । इतिहासले तपाईंलाई पनि कठोर कारबाही गर्नेछ र त्यो बेला तपाईंका निम्ति दुई थोपा आँशु झार्ने मान्छे पनि हुने छैनन्’, उनले चेतावनीको शैलीमा भने, ‘त्यसैले धम्कीको भाषा नाबोलौं, दुई वर्ष बालुवाटारमा चैनका साथ बस्नुस्, बारुदका गन्ध नफैलाउनुस् ।’

मंगलबार नै प्रधानमन्त्री अ‍ोलीले नेपाल पक्षको भेलामा नजान नेता/कार्यकर्ताहरुलाई निर्देशन दिए । उनले पार्टीमा विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था नहुने भन्दै अब सहेर नबस्ने चेतावनी दिए ।

‘यस पार्टीमा अब उप्रान्त विधि विधानविरोधी क्रियाकलापमा छुट हुने अवस्था हुँदैन । अब सहेर बस्दैनौँ । अचाक्ली भयो,’ उनले भने, ‘भेलामा नेकपा एमाले सम्बद्ध कोही पनि नजान निर्देशन दिन्छु । सजग र सचेत गराउन चाहन्छु । भोलिको भेला गर्नुहुन्छ कि गर्नुहुन्न, अझै कति तमसा गर्नुहुन्छ, एक नजर त्यता रहनेछ ।’

यसरी हेर्दा दुवै पक्षका नेता एकले अर्कालाई खुईल्याउन केन्द्रीत भएका छन् । सर्वोच्च अदालतको फैसलाले पार्टीलाई विधि विधान र पद्धतिअनुसार चलाउने आशा गरिए पनि अहिले नेताहरुबीच प्रतिष्ठाको लडाई चलिरहेको छ ।

अ‍ोली पक्षका नेता गोकुल बाँस्कोटाले माधव नेपाल प्रचण्डले नेतृत्व गरेको माओवादी केन्द्रमा विलिन हुने दाबी गरे । उनले ट्वीटमार्फत भनेका छन्, ‘माधब रणनीति स्पष्ट छ– गुटभेला र समानान्तर कमिटीद्वारा कार्यकर्ता जम्मा गर्ने, संसदमा १०–२० ले फ्लोर क्रस गरेर कार्वाही भोग्ने अनि हामीलाई बस्न टिक्न दिईएन भनेर कुर्लने र चुनाव छेक नेपाल कम्फरटेवल पार्टीमा विलिन हुने । स्पष्ट अब अरु हुन पर्छ जो अझै अलमलमा छन् । नत्र ४ गतेको भेला किन ?’

नेपाल समूहको राष्ट्रिय भेलामा आएका एक कार्यकर्ताले नेताहरुको स्वार्थका कारण पार्टी धरापमा परेको बताए । ती कार्यकर्ताले एउटै पार्टीका दुई वटा गुटगत भेला आफुहरुलाई मान्य नहुने चेतावनी दिए ।

‘दुवै नेता बसेर विधानअनुसार काम गरे एकता सम्भव हुन्छ । दुवै नेताले दम्भ घमण्ड त्यागेर एकताको पक्षमा उभिनुपर्छ । नेतृत्वको सवार्थमा रुपमा एकता भएको रहेछ । आफू पदमा हुन्जेल व्यक्तिवादी चिन्तनले पार्टी उकता भत्कियो । आम कार्यकर्ताको मन मस्तिष्कमा बसेर एकतामा केन्द्रीत हुनुपर्छ । गुटगत भेला हामीलाई मान्य छैन्’, धादिङबाट आएका एक एमाले कार्यकर्ताले भने ।

अहिले दुवै पक्षका नेता अहिले एकले अर्कोमाथि गाली गलौजमा उत्रिन थालेका छन् । प्रदेश नम्बर ५ का मुख्यमन्त्री शंकर पोखरेलले पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमती नचाहिने भएपछि के विधि र पद्धतीको कुरा गरिरहनु ? भन्दै नेपाल पक्षमाथि आक्रोश पोखेका छन् ।

‘पार्टीको नाममा भेला गर्न अध्यक्ष र महासचिवको सहमती नचाहिने भएपछि के विधि र पद्धतीको कुरा गरिरहनु? जति रिस उठेनि घर त आफ्नै हो नि..’, उनले भनेका छन् ।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले आफ्नो निहित स्वार्थका लागि नेकपा (एमाले) विभाजन गरी समाप्त गर्न चाहने तत्वहरूले गुटगत भेला आयोजना गरेको बताए ।