काठमाण्डु – नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल निकट नेता योगेश भट्टराईको दौडधुप निकै थियो । मंगलबार उनी नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र नेता माधव कुमार नेपाललाई भेट गराउन अन्तिम कसरतमा थिए ।
पार्टी विभाजनको अवस्थामा पुगेकाले नेता भट्टराई दुवै शीर्ष नेतालाई जसरी पनि संवाद गराउने कसरतमा लागे । नेपाल पक्षबाट उनी र अोली पक्षबाट गण्डकी प्रदेशका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले मंगलबार साँझ प्रधानमन्त्रीसँग बालुवाटारमा सघन वार्ता गरे ।
प्रधानमन्त्रीसँग वार्ता चलिरहेका बेला विष्णु पौडेल पनि सहभागी भएका थिए । प्रधानमन्त्री ओलीले पार्टी विभाजनको अवस्थामा पुगेको भन्दै चुनावमा अलग–अलग रुपमा जानुपर्ने अवस्था आइपरेको बताए । उनले आफूलाई पार्टीभित्रबाटै घेराबन्दी गरिएको गुनासो गरे ।
प्रधानमन्त्रीको कुरा सुनेपछि उनले पार्टीलाई एक ढिक्का बनाउनका लागि नेपाल, झलनाथ खनाल र वामदेव गौतमलगायतका शीर्ष नेताहरुसँग अन्तिम संवाद गर्न आग्रह गरे । भट्टराईले गरेको आग्रहमा प्रधानमन्त्रीले सहमति जनाएका थिए ।
दुवै पक्षबीच वार्ता सकारात्मक रुपमा टुंगियो । बालुवाटरको वार्ता सकारात्मक रहेको खबर लिएर उनी माधव नेपालसँग भेट गर्न कोटेश्वर पुगे ।
कोटेश्वरमा नेता नेपाललाई बालुवाटारको सन्देश सुनाए । त्यसपछि प्रधानमन्त्री ओली र नेता नेपालबीचको कार्यकतालिका तय भयो ।
सोहीअनुसार प्रधानमन्त्री ओली र नेता नेपालबीच बुधबार साँझको भेटवार्ता सम्भव भएको स्रोतको भनाई छ । उक्त भेटवार्ताको व्यवस्थापन प्रधानमन्त्रीका आर्थिक सल्लाहकार मोतीलाल दुगडले गरेका थिए । उनले बुधबार आफ्नो नाममा मेरियट होटलको कोठा नम्बर ९०१ बुक गरेका थिए ।
भट्टराईले बुधबार दिउँसो पनि प्रधानमन्त्रीलाई बालुवाटार गएर भेटवार्ता गरेका थिए । उनले पार्टी एकताका लागि अन्तिम पहल गर्न प्रधानमन्त्रसँग आग्रह गरेका थिए ।
प्रधानमन्त्री अोलीले एमाले नेता भट्टराईसहित सुरेन्द्र पाण्डे र गोकर्ण विष्टसँग पनि संवाद बढाएका थिए । पाण्डे, भट्टराई र विष्टसहितका नेताहरु एमालेमा फर्किन लागेको खबरपछि नेता नेपाल ओलीसँग वार्ता गर्न सहमत भएका थिए । दुवै नेताबीच भएको वार्ताको निष्कर्ष सार्वजनिक नभए पनि पार्टीलाई एकताबद्ध गरेर लैजाने विषयमा सहमति जुटेको बताइन्छ ।




प्रतिक्रिया