काठमाण्डु – नेकपा एमालेले प्रधानन्यायाधीशविरुद्ध सत्ता गठबन्धनले महाभियोग प्रस्ताव दर्ता गराएको विषयलाई लिएर असन्तुष्टि जनाएको छ । नेकपा एमालेले प्रधानन्यायाशीश चोलेन्द्रशमशेर जबरा विरुद्धको महाअभियोग स्थानिय निर्वाचन भाड्ने षड्यन्त्र भएको प्रतिक्रिया दिएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानन्यायाधीशविरुद्ध महाअभियोग लगाउन प्रस्ताव दर्ता गरेर सत्ता गठबन्धनले राज्यका अंगहरूलाई विभाजनतिर लगेको टिप्पणी गरेका हुन् । उनले प्रधानन्यायाधीशमाथिको महाअभियोग प्रस्ताव अनुचित र अनुत्तरदायी भएकाले यसले मुलुकमा हानी पुग्ने दावी गरेका छन् ।
‘मुलुकलाई स्थायित्व र सहि बाटो दिन निर्वाचनतिर लाग्नुपर्नेमा सत्ता गठबन्धन नै निर्वाचन भाँड्न र नयाँ नयाँ विवाद सिर्जना गर्न लागेको छ । यो राज्यका अंगहरूलाई कमजोर पार्ने षडयन्त्रबाहेक केही होइन,’ अध्यक्ष ओलीको भनाइ उदृत गर्दै प्रेस संयोजक रामशरण बजगाईंले भने ।’
त्यस्तै एमाले संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङले सत्तापक्षले गलत नियतले प्रधानन्यायाशीश चोलेन्द्र शमशेर राणाविरुद्ध महाभियोग दर्ता गराएको प्रतिक्रिया दिएका हुन् । महाअभियोग प्रस्तावबारे आफूहरूलाई कुनै जानकारी नरहेको र अचानक दर्ता भएपछि मात्र जानकारी भएकाले पार्टीमा छलफल हुन बाँकी रहेको उनले बताए ।
यसैबीच नेकपा एमालेका केन्द्रीय सदस्य तथा प्रचार विभाग उपप्रमुख विष्णु रिजालले प्रधानन्यायाधीशमाथिको महाभियोग प्रस्तावले मुलुकलाई थप द्वन्द्वतिर धकेलेको बताएका छन् ।
‘यसबाट न्यायालय कब्जा गरी आफू अनुकूलका फैसला गराउने प्रपञ्च प्रकट भएको छ । स्थानीय चुनाव नगराउने षड्यन्त्र सुरु भएको छ’, रिजालले सामाजिक सञ्जालमार्फत भनेका छन्, ‘प्रतिपक्षसँग बन्न लागेको सम्बन्धलाई बिगारेको छ । सत्तापक्षले महाभियोगको सिलसिला आरम्भ गरेको छ, जसको असर तुरुन्तै देखापर्नेछ ।’
सत्ता गठबन्धनका ९८ जना सांसदको हस्ताक्षरसहित राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता भैसकेको छ । योसँगै प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणा स्वत निलम्बनमा परेका छन् । नेपालको संविधानको धारा १०१ को उपधारा ६ मा महाभियोगको कारबाही प्रारम्भ भएपछि त्यस्तो कारबाहीको टुँगो नलागेसम्म आफ्नो पदको कार्यसम्पादन गर्न नपाउने भनेर उल्लेख गरेको छ ।
उनीविरुद्ध सत्तारूढ दल नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जसपाका ९८ जना सांसदले महाभियोग प्रस्ताव दर्ता गराएका हुन् ।




प्रतिक्रिया