काठमाण्डु-नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आज चौथो पटक प्रधानमन्त्री बन्दै छन् । राष्ट्रपति रामचन्द्र पौडेलले नयाँ प्रधानमन्त्रीका रूपमा एमाले संसदीय दलका नेता ओलीलाई नियुक्त गर्दैछन् ।
नयाँ सरकार गठनका लागि राष्ट्रपतिले आइतबार ५ बजेसम्मका लागि दिएको समयसीमा सकिएपछि प्रधानमन्त्रीको नियुक्ति र शपथको प्रक्रिया अघि बढ्ने राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिए ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा ७६ को उपधारा (२) बमोजिम प्रधानमन्त्री पदमा नियुक्ति गर्ने प्रयोजनका लागि आज बेलुका ५ बजेभित्र दाबी पेस गर्न शुक्रवार आह्वान गरेका थिए । आह्वान अनुसार एमालेका अध्यक्ष ओलीले नेपाली कांग्रेसको समर्थनमा शुक्रबार नै प्रधानमन्त्रीका लागि दाबी पेश गरिसकेका छन् ।
राष्ट्रपति पौडेलले दाबी पेस गर्ने समय सकिएपछि आज ओलीलाई प्रधानमन्त्री पदमा नियुक्त गर्नेछन् । आज समय ढिला हुने भएकाले भोलि बिहान ११ बजे प्रधानमन्त्री र मन्त्रीको शपथग्रहण कार्यक्रम हुने पनि प्रेस सल्लाहकार पोखरेलले बताए ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ’प्रचण्ड’ले शुक्रवार प्रतिनिधिसभाको बैठकमा प्रस्तुत गरेको विश्वासको मतसम्बन्धी प्रस्ताव पारित नभएपछि नयाँ सरकार गठनको प्रक्रिया शुरु भएको हो ।
ओली चौथो पटक प्रधानमन्त्री बन्न लागेका हुन् । यसअघि उनी २०७२, २०७४ र २०७८ सालमा गरी तीन पटक प्रधानमन्त्री बनिसकेका छन् । नयाँ सत्ता समीकरण बनाएका कांग्रेस र एमाले पहिलो चरणमा सानो मन्त्रिपरिषद् गठन गर्न गृहकार्यमासमेत जुटेका छन् ।
असार १७ गते भएको सहमतिका आधारमा अध्यक्ष ओली कांग्रेसको समर्थनमा प्रधानमन्त्रीमा नियुक्त हुन लागेका हुन् ।
एमालेका प्रमुख सचेतक महेश बर्तौलाका अनुसार राष्ट्रपति पौडेलबाट प्रधानमन्त्रीमा अध्यक्ष ओलीलाई नियुक्तिपछि सोमबारभित्र पद तथा गोपनीयताको शपथ लिने तयारी छ ।
कांग्रेसले मन्त्री चयन गर्दा प्रादेशिक सन्तुलन र समावेशिताका आधारमा सरकारमा सहभागी हुने मन्त्रीको छनोट गर्ने निर्णय गरिसकेको छ । कांग्रेस सभापति देउवा नेता प्रकाशमान सिंहको नेतृत्वमा सरकारमा मन्त्री पठाउने तयारीमा छन् । एमालेबाट अन्य मन्त्रीको टुंगो नलागे पनि अध्यक्ष ओलीले विष्णुप्रसाद पौडेललाई अर्थमन्त्री बनाउने तयारी गरेका छन् ।
सरकारमा एमालेले प्रधानमन्त्रीसहित आठ र कांग्रेसले गृहमन्त्रीसहित ९ मन्त्रालय पाउने सहमति कांग्रेस र एमालेले गरेका छन् । २१ मन्त्रालयमध्ये अन्य केही मन्त्रालय साना दललाई दिने सहमति एमाले र कांग्रेसले गरेका छन् ।




प्रतिक्रिया