काठमाडौं – नेपाल कम्युनिस्ट पार्टी (नेकपा)ले सभामुखको उम्मेद्वारको टुंगो लगाएको छ । आज बिहान नेकपाका दुई अध्यक्ष केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डले सभामुखको टुंगो लगाएका हुन् ।
प्रधानमन्त्री निवास बालुवाटारमा बिहान ९ बजेबाट चलेको छलफलमा दुई अध्यक्षबीच सभामुखको उम्मेद्वारमा पूर्वमाअोवादी नेता अग्नि सापकोटालाई चुनिएको स्रोतले जानकारी दियो । उद्यपी आधिकारिक रुपमा सभामुखको उम्मेद्वारको नाम भने सार्वजनिक गरिएको छैन् ।
सभामुखको उम्मेद्वार टुंगो लगाउन नेकपाको सचिवालय बैठक बेलुकी ४ बजे बस्ने भएको छ । प्रधानमन्त्री ओली र नेकपाका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डबीच छलफलपछि सचिवालय बैठक डाकिएको हो ।
४ बजे बस्ने सचिवलय बैठकबाट सभामुखको उम्मेद्वारको नाम अनुमोदन गरिने स्रोतको दाबी छ ।
गत शनिबार बसेको नेकपा सचिवालय बैठकले उपसभामुख शिवमाया तुम्बाहाङ्फेलाई पदबाट राजीनामा दिन निर्देशन दिइएको थियो । तर, उपसभामुख तुम्बाहाङ्फेले सभामुखको उम्मेदवार चयन नहुँदासम्म राजीनामा नदिने अडानमा छिन् ।
प्रधानमन्त्रीले पूर्व सभामुख सुवास नेम्वाङ र प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुखको उम्मेद्वारका रुपमा अघि सारेका थिए ।




प्रतिक्रिया