अध्यक्ष प्रचण्डलाई साक्षी राखेर प्रधानमन्त्रीले आयुर्वेदिक विज्ञसँग गरे ३ घण्टा छलफल

अध्यक्ष प्रचण्डलाई साक्षी राखेर प्रधानमन्त्रीले आयुर्वेदिक विज्ञसँग गरे ३ घण्टा छलफल

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाण्डु – प्रधानमन्त्री केपी शर्मा ओलीले आयुर्वेदिक नेपालको मौलिक चिकित्सा प्रणाली रहेको र निरोगी नेपाल निर्माण अभियानमा यसको असाधारण भूमिका हुने स्पष्ट पारेका छन् ।

कोभिड–१९ को उपचार र नियन्त्रणमा अपेक्षित भूमिकाका निम्ति आयुर्वेदिक क्षेत्रका विज्ञहरूसँग बालुवाटारमा विशेष छलफल र परामर्श गर्दै उनले आयुर्वेदभित्रै योगा पनि पर्ने बताए । उनले भने, ‘आयुर्वेद खासमा औषधि र आरोग्य विज्ञान दुबै हो ।’

उनले मेशीनहरू एलोपेथिक नभएको प्रष्ट पार्दै आयुर्वेदमा आधुनिक प्रविधि, अनुसन्धान र औद्योगिकरणको प्रक्रिया मिसाउनुपर्ने आवश्यकतामा जोड दिए ।

उनले आयुर्वेद क्षेत्रलाई उपेक्षा गर्ने क्रम हटाउन नै सरकारले योगमाया विश्वविद्यालय स्थापना गरेको र यसमार्फत भविष्यमा सिंगो विश्वको ध्यानाकर्षण गरी आयुर्वेद र योगाको विकास गर्ने लक्ष राखिएको उल्लेख गरे ।

प्रधानमन्त्री ओलीले निरोगी नेपाल निर्माणमा आयुर्वेदको भूमिका व्यापक बढाउन सरकार दृढ रहेको धारणाका साथ पटकपटक स्मरण गरेका छन् ।

‘हाम्रा पूर्वजहरूले औषधिमय खानपानको प्रबन्ध मिलाएका, ताजा खानेकुरा खाने परम्परा बसाएका र लामो अनुुभव र प्रयोगबाट औषधिमय तत्वको पहिचान र प्रयोग गरेका हुन’, उनले भने ।

कोभिड नियन्त्रणमा आयुर्वेदलाई प्रयोगात्मक मात्रै नबनाउन र यसको प्रयोगलाई बढाउन समेत सबैको ध्यानाकर्षण गराए ।

पार्टीका अर्का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डका साथ विज्ञहरूसँग तीन घण्टा सुझाव लिएका प्रधानमन्त्रीले आयुर्वेद उपचारमा हाल गरिरहेका कामहरू र उपयोगी घरेलु विधिहरूको सम्मान गर्न तथा संचारमाध्यमबाट त्यसको व्यापक प्रचारप्रसार गर्न पनि जोड दिए ।

उक्त अवसरमा आयुर्वेद विभागका महानिर्देशक वासुदेव उपाध्याय, डा.ऋषिराम कोइराला, डा. प्रदीप केसी, विनोद पौडेल, डा. रामआधार यादव, डा. सन्तोष ठाकुर, प्रा.डा. डीबी रोका, डा. शिवमंगल प्रसाद, डा. प्रकाश ज्ञवाली र डा.धनिकलाल भर्खरलगायतले आआफ्ना धारणा राख्दै प्रधानमन्त्रीको तहबाट आयुर्वेदिक क्षेत्रलाई महत्व दिएर पहिलोपटक परामर्श गरिएकोमा विशेष आभार र धन्यवाद ज्ञापन गरेका थिए ।

पार्टीका अर्का अध्यक्ष प्रचण्डले यस कार्यक्रममा प्रधानमन्त्रीले सहभागी गराकोमा धन्यवाद ज्ञापन गर्दै दुबै अध्यक्षलाई गंभीर ढंगले घच्घच्याउने काम गरेको अनुभूति राखे ।